गत वर्ष ‘ग्यालेक्सी एस–२० एफइ’ले बजारमा कमाएको सफलतापछि सामसङले यो वर्ष नयाँ सिक्वल ‘ग्यालेक्सी एस–२१ एफइ’ ल्याउन सक्ने अनुमान गरिएको छ।
केही दिनअघि सामसङ मेक्सिकोको अनलाइन होमपेजमा गल्तीले ‘ग्यालेक्सी एस–२१ एफइ’ बारे जानकारी लिक भएपछि कम्पनीले नयाँ स्मार्टफोन चाडैँ सार्वजनिक गर्ने चर्चा बढेको जीएसएम एरेनाले बताएको छ।
अहिले सो होमपेजबाट ‘ग्यालेक्सी एस–२१ एफइ’ बारे जानकारी हटाइसकेपनि मानिसहरुले यो फोनमा हुनसक्ने फिचरहरु अनुमान लगाउन थालिसकेका छन्।
‘ग्यालेक्सी एस–२१ एफइ’मा ६.४ वा ६.५ इन्चको सुपर एमोलेड इन्फिनिटी–ओ डिस्प्ले हुने अपेक्षा गरिएको छ। यसमा ९० हर्जको रिफ्रेस रेट हुनेछ।
यसको पछाटीपट्टी तीन वटा क्यामरा र ३२ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ।
यो फोन स्न्यापड्रागन ८८८ एसओसी प्रोसेसरमा चल्ने छ। ग्राहकले १२८ जिबी र २५६ जिबी इन्टरनल स्टोरेजको विकल्पमा यो नयाँ स्मार्टफोन किन्न सक्नेछन्।
‘ग्यालेक्सी एस–२१ एफइ’को हार्डवेयरबारे धेरै जानकारी सार्वजनिक नभएपनि यो फोनमा ४ हजार पाँच सय एमएएचको ब्याट्री पावर हुने रिर्पोटले बताएको छ।
यसैगरी यो फोन चार नयाँ रङ, खैरो, गुलाबी, बैंगनी र सेतोमा उपलब्ध हुनेछ।
स्रोतका अनुसार सामसङले ‘ग्यालेक्सी एस–२१ एफइ’ यो वर्षको अन्त्यतिर सार्वजनिक गर्न सक्नेछ। कम्पनीले भने यसबारे कुनै प्रतिकृया दिएको छैन।