नेपाली कम्पनी फिट इन्टरनेशनल फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ। नेपालमा पहिलो पटक फेसबुकको साझेदारी डिजिटल मार्केटिङ एजेन्सी लिइएको कम्पनीले दाबी गरेको छ।
नेपालमा दर्ता भएको कम्पनीले एजेन्सी लिएकाले नेपालभित्रकै कम्पनी तथा व्यक्तीले फेसबुकमा सजिलै विज्ञापन गर्नसक्ने कम्पनीले जानकारी दिएको छ।
यस्तो एजेन्सी आधिरकारिक रुपमा नेपाली कम्पनीले लिएका थिएनन्। यही कारणले गर्दा फेसबुकमा हुने विज्ञापन अनौपचारिक क्षेत्रबाट भइरहेको थियो।
'अहिलेसम्म यस्ता विज्ञापनहरूको भुक्तानी अनौपचारिक रूपमा गरिने हुनाले देशको अर्थव्यवस्थामा हानी भइरहेको छ। फेसबुकको अनौपचारिक तथ्यांक अनुसार नेपाली व्यावसायीहरुले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेको छन्, जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुनाले त्यसको हिसाब किताब देखिँदैन'कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।
फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापनहरू अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिने कम्पनीले जानकारी दिएको छ। सबै भुक्तानी आधिरकारिक च्यानलबाट हुने र यसबाट राज्यलाई करको लाभ पनि हुने कम्पनीको भनाइ छ।