सामसङले आफ्ना दुई नयाँ फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड–३ र ग्यालेक्सी जेड फिल्प–२ आउँदो जुलाईमा सार्वजनिक गर्ने भएको छ।
विश्वव्यापी महामारीले बजारमा पारेको असरका कारण स्मार्टफोन कम्पनीहरु नयाँ उपकरण ढिलाइ गरिरहेपनि सामसङ भने फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्न अगाडि बढिरहेको छ।
दक्षिण कोरियाली कम्पनी द इलेकका अनुसार सामसङले यो वर्ष करिब ७० लाखवटा ग्यालेक्सी जेड फोल्ड–३ र ग्यालेक्सी जेड फिल्प–२ बेच्ने लक्ष्य राखेको छ।
कम्पनीले ग्यालेक्सी जेड फोल्ड–३ मात्रै ३० लाखवटा उत्पादन गर्ने भएको छ। यसैगरी ग्यालेक्सी जेड फिल्प–२ को उत्पादन भने ४० लाखवटा हुनेछ। यी उत्पादन विश्वबजारमा बिक्री गर्ने लक्ष्यको साथ बनाइने रिर्पोटले बताएको छ।
ग्यालेक्सी जेड फोल्ड–३ मा चार हजार तीन सय ८० एमएएचको ब्याट्री पावर हुनेछ। यसको फोल्डिङ स्क्रिन ७.५ इन्चको हुनेछ।
त्यसैगरी ग्यालेक्सी जेड फिल्प–२ मा तीन हजार दुई सय एमएएचको ब्याट्री पावर हुनेछ।
सामसङले आफ्ना यी दुई फोल्डेबल फोन प्रयोगकर्ताको पकेटमा अटाउने गरी अझ पातालो बनाउने सोच गरिरहेको जीएसएम एजेनाले लेखेको छ।
ग्यालेक्सी जेड फोल्ड–३ र ग्यालेक्सी जेड फिल्प–२ गत वर्ष सार्वजनिक गरिएको फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड–२ र ग्यालेक्सी जेड फिल्प भन्दा केही फरक फिचरका साथ उपलब्ध हुने जीएसएम एजेनाले बताएको छ।
सन् २०२० मा सामसङले करिब ३० लाखवटा फोल्डेबल फोन बिक्री गरेको थियो। फोल्डेबल फोनले विश्वबजारमा ल्याएको सफलतापछि कम्पनीले यो वर्ष आफ्नो उत्पादन बढाएको हो।