कोभिड–१९ को महामारीमा बिरामीको सेवामा खटिने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुलाई नेपाल टेलिकमले एक महिनासम्म निशुल्क भ्वाइस कल सेवा दिने भएको छ।
टेलिकमको धन्यवाद स्वास्थ्यकर्मी अफर अन्तर्गत यो सेवा दिइएको हो।
सेवाका लागि नेपाल टेलिकम, नेपाल चिकित्सक परिषद/नेपाल नर्सिंग परिषद/नेपाल फर्मासिष्ट परिषद/नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर भएको छ।
स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषदहरुले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराए पश्चात यो अफर उपलब्ध गराइने छ।
स्वास्थ्यकर्मीहरुले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गरिनेछ। पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागु हुने रेन्टल चार्ज कायमै रहने कम्पनीले बताएको छ।
यो सेवा पाउनका लागि प्रयोगकर्ताको सिम आफ्नो नाममा हुनुपर्ने छ।
आफ्नो नाममा कम्पनीको सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले नयाँ सिमकार्ड लिनका लागि सम्बन्धित परिषदको आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउन कम्पनीले आग्रह गरेको छ।
स्वास्थ्यकर्मीको सम्बन्धित परिषदको परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट पनि तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने छ।