चिनियाँ स्मार्टफोन कम्पनी साओमीले विश्वबजारमा नयाँ रेकर्ड राखेको छ।
जीएसएम एरेनाका अनुसार साओमीले आफ्नो रेड्मी नोट सिरिजका २० करोड स्मार्टफोन विश्वभर बिक्री गर्न सफल भएसँगै माइलस्टोन पार गरेको हो।
साओमीको रेड्मी नोट सिरिज सुरुआती दिनदेखि ग्राहकको रोजाइमा पर्दै आएको थियो। सन् २०१४ मा कम्पनीले पहिलो रेड्मी नोट सार्वजनिक गरेको थियो। यसलगतै नोट सिरिजका अन्य स्मार्टफोन थुप्रै नयाँ फिचरका साथ उत्पादन हुन थालेको हो।
नोट सिरिजको यही सफलताको कारण साओमी विश्वकै तेस्रो ठूलो स्मार्टफोन कम्पनी बनेको जीएसएम एरेनाले जनाएको छ।
यसका साथै हालै साओमीले चिनियाँ बजारमा नयाँ नोट १० सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ। यो नयाँ स्मार्टफोन आउँदो मार्च २६ मा सार्वजनिक गर्ने कम्पनीले बताएको छ।
नेपाली बजारमा भने साओमीले गत शुक्रबार ‘रेड्मी नोट–१० प्रो’ सार्वजनिक गरेको थियो।
‘रेड्मी नोट–१० प्रो’मा चारवटा क्यामरा छ। जसमा १०८ एमपीको मुख्य क्यामरा, ८ एमपीको अल्ट्रा वाइड लेन्स, ५ एमपीको सुपर म्याक्रो र २ एमपीको डेप्थ सेन्सर छ।
यो स्मार्टफोन १२० हर्जको एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ७३२ जी प्रोसेसर र ईभोल डिजाइनका साथ उपलब्ध छ।