चिनियाँ स्मार्टफोन कम्पनी साओमीको ‘रेड्मी ९–ए’ मोडल यस वर्षको पहिलो त्रैमासिकमा सार्वधिक बिक्री हुने एन्ड्रोइड फोन बनेको छ।
ग्याजेटनाउका अनुसार ‘रेड्मी ९–ए’ को राम्रो बिक्रीका कारण साओमी यो वर्षको पहिलो तीन महिनामा नै धेरै संख्यामा एन्ड्रोइड फोन बेच्ने सूचीको पहिलो स्थानमा परेको छ।
सूचीमा ‘रेड्मी ९–ए’ पछि सार्वधकि बिक्री भएको अर्को एन्ड्रोइड फोन सामसङको ‘ग्यालेक्सी एस–२१ अल्ट्रा ५–जी’ भएको छ।
‘रेड्मी ९–ए’ गत वर्ष भारतमा ‘देशका स्मार्टफोन’ ट्यागलाइन सहित सार्वजनिक भएको थियो। भारत र चीनका बजारमा यो स्मार्टफोनको माग बढेकै कारणले सार्वधिक बिक्री हुने एन्ड्रोइड फोन बनेको काउन्टरपोइन्ट रिसर्च ग्लोबल ह्यान्डसेट मोडल ट्रयाकरले जनाएको छ।
यसैगरी ‘रेड्मी ९–ए’ सँगै ‘रेड्मी ९’ र ‘रेड्मी नोट–९’ पनि दक्षिण पूर्व एशिया बजारमा कयौँ ग्राहकको रोजाइमा पर्दै आएको छ। जसले गर्दा साओमीको स्थान विश्वबजारमा अझ माथि पुगेको छ।
भारतीय बजारमा ‘रेड्मी ९–ए’ ३ जिबी वा २ जिबी र्यामको विकल्पका साथ ३२ जिबी आन्तरिक स्टोरेजमा उपलब्ध छ। यसमा ६.५३ इन्च एचडीप्लस टिएफटी–आइपीएस डिस्प्ले छ। यसको पछाडीको क्यामरा १३ मेगापिक्सल र सेल्फी क्यामरा ५ मेगापिक्सलको छ।
यो फोन मिडियाटेक हेलियो जी२५ अक्टाकोर प्रोसेसरमा चल्ने ग्याजेटनाउले लेखेको छ।
अर्को स्मार्टफोन ‘रेड्मी ९’ भने ४ जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेज, साथै ४ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेजमा उपलब्ध छ। यो फोनमा ६.५३ इन्चको एचडी प्लस डट ड्रप डिस्प्ले छ।
‘रेड्मी ९’को पछाडिको क्यामरा १३ मेगापिक्सलको र सेल्फी क्यामरा ५ मेगापिक्सलको छ। यो स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री पावर रहेको ग्याजेटनाउले बताएको छ।