चिनियाँ स्मार्टफोन कम्पनी ओपोले चाडैँ तीन नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ।
न्यूज१८का अनुसार कम्पनीले यहीँ मे २७ मा नयाँ ‘ओपो रेनो ६’, ‘ओपो रेनो ६ प्रो’ र ‘ओपो रेनो ६ प्रो प्लस’ सार्वजनिक गर्ने भएको हो।
गत वर्ष सार्वजनिक भएको ‘ओपो रेनो ५’ सिरिजको सफलतापछि कम्पनीले ‘ओपो रेनो ६’को तीनवटा मोडल उत्पादन गर्न लागेको हो।
ओपोका यी तीन नयाँ मोडल ग्राहकमाझ पुग्नुअघि नै चिनियाँ बजारमा यसका फिचरबारे चर्चा सुरु भइसकेको छ। तीनै स्मार्टफोन एउटै डिस्प्ले आकारमा आउने तर हरेकको क्यामरा प्रणाली भने फरक हुन सक्ने अनुमान लगाइएको छ।
‘ओपो रेनो ६’ ६.५५ इन्चको फुल–एचडीप्लस डिस्प्लेका साथ आउनेछ, जसमा ९० हर्जको रिफ्रेस रेट हुनेछ। यो फोनमा तीनवटा क्यामरा छ, जसको पछाडी क्यामरामा ६४ मेगापिक्सलको प्राइमेरी सेन्सर हुने र अगाडिपट्टि भने ३२ मेगापिक्सलको सेल्फी सुटर क्यामरा हुने रिर्पोटले जनाएको छ।
यो फोन दुईवटा स्टोरेजमा उपलब्ध हुनेछ, एउटा ८ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेजको साथ र अर्कोमा १२ जिबी र्याम र २५६ आन्तरिक स्टोरेज हुनेछ।
‘ओपो रेनो ६’ खैरो, कालो र निलो गरेर तीनवटा रङमा उपलब्ध हुनेछ।
यसैगरी ‘ओपो रेनो ६ प्रो’मा पनि ६.५५ इन्चको फुल–एचडीप्लस डिस्प्ले र ९० हर्जको रिफ्रेस रेट फिचर हुनेछ। यो फोनमा भने चारवटा क्यामरा छ।
यसको मुख्य क्यामरामा ६४ मेगापिक्सलको प्राइमेरी सेन्सर हुनेछ भने सेल्फी क्यामरा ३२ मेगापिक्सलको हुनेछ। साथै यो फोन दुई हजार दुई सय एमएएच डुअल–सेल ब्याट्रीमा उपलब्ध हुने न्यूज १८ले लेखेको छ।
‘ओपो रेनो ६ प्रो प्लस’ मा हुने फिचरहरु पनि ‘ओपो रेनो ६’ र ‘ओपो रेनो ६ प्रो’ जस्तै हुनेछ। यो फोनमा चारवटा क्यामरा हुनेछ, जसको मुख्य क्यामरामा ५० मेगापिक्सलको सोनी आइएमएक्स७६६ सेन्सर हुने अनुमान छ।
‘ओपो रेनो ६ प्रो प्लस’ क्वालकम स्न्यापड्रागन ८७० एसओसी प्रोसेसरमा चल्नेछ र यसमा ६५ वाटको फास्ट चार्जिङ फिचर पनि हुनेछ। यो फोन निलो र खैरो रङमा उपलब्ध हुनेछ।