सोसल मिडिया एप इन्स्टाग्राममा अब आफ्नो 'लाइक्स' लुकाउन मिल्ने भएको छ।
करिब दुई वर्षको परीक्षणपछि इन्स्टाग्रामले फोटोमा आउने लाइक्स लुकाउन मिल्ने सुविधा आधिकारिक बनाएको इन्ग्याजेटले लेखेको छ।
यो सुविधापछि प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राममा अपलोड गरेको फोटोमा कतिवटा लाइक्स आएको छ लुकाउन सक्छन्। यो फिचर वैकल्पिक भएको हुनाले आफ्नो इच्छाअनुसार एपको सेटिङमा गएर परिवर्तन पनि गर्न मिल्ने छ।
इन्ग्याजेटका अनुसार यस अपडेटबाट प्रयोगकर्ताले आफ्नै पोष्टबाट लाइक्स हटाउन वा आफ्नो फिडमा आउने अन्य प्रयोगकर्ताको पोष्टहरुका लाइक्स लुकाउन सक्नेछन्। फोटोमा आउने लाइक्स हेर्न नमिल्ने बनाएपनि प्रयोगकर्ताले आफ्नो पोष्टमा कसले अन्तर्किया गरे भनेर हेर्न भने सक्नेछन्।
यसरी प्रयोगकर्ताबिच कसको फोटोमा कति लाइक्स आएको छ भन्ने प्रतिस्पर्धा कम हुने र एपको सेवासँग सम्बन्धित केही नकरात्मक दबाबलाई हटाउने कम्पनीले अपेक्षा गरेको थियो, तर प्रारम्भिक परिक्षण केही प्रयोगकर्ताहरुको बीचमा विवादास्पद भएको थियो।
यो फिचर विशेषगरी प्रयोगकर्ताको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर बनाएको हुनाले उपयोगी हुन सक्ने रिर्पोटले जनाएको छ।
यसैगरी हाल इन्स्टाग्राम र फेसबुक सामाजिक सञ्जालले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमा पार्ने असरबारे छलफल गरिरहेको छ। एपको व्यवस्थापकहरुले किशोरकिशोरीका मानसिक स्वास्थ्यबारे प्रश्न उठाएर १३ वर्षभन्दा कमका बालबालिकाको लागि इन्स्टाग्रामको नयाँ संस्करण सिर्जना गर्न कम्पनीलाई योजना दिएका छन्।