सामसङले प्राय आफ्ना ग्यालेक्सी एसका स्मार्टफोन तीनवटा मोडल सार्वजनिक गर्छ। यो वर्ष भने कम्पनीले तीन नयाँ मोडलका ट्याब्लेट सार्वजनिक गर्न सक्ने अनुमान छ।
दक्षिण कोरियाबाट बाहिर आएको ठूलो लिकका अनुसार सन् २०२१ मा ‘ग्यालेक्सी ट्याब एस–८’का तीनवटा मोडल उत्पादन हुनेछ। जसमा ‘ग्यालेक्सी ट्याब एस–८’, ‘ग्यालेक्सी ट्याब एस–८ प्लस’ र ‘ग्यालेक्सी ट्याब एस–८ अल्ट्रा’ हुनेछ।
‘ग्यालेक्सी ट्याब एस–८’ मा ११ इन्चको एलसिडी टचस्क्रिन डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट हुनेछ। यसको पछाडीपट्टी १३ मेगापिक्सल र ५ मेगापिक्सलको दुईवटा क्यामरा हुनेछ। अगाडीको सेल्फी क्यामरा भने ८ मेगापिक्सलको हुनेछ।
यो ट्याब ८ जिबी र्याम सहित १२८ वा २५६ जिबी आन्तरिक स्टोरेजका साथ उपलब्ध हुनेछ। यसमा चारवटा स्पिकर, एस पेन र आठ हजार एमएएचको ब्याट्री पावर हुने जीएसएम एरेनाले बताएको छ।
‘ग्यालेक्सी ट्याब एस–८’ ६.३ एमएम आकारको हुनेछ। बजारमा यो ट्याब भनिला रङमा उपलब्ध हुनेछ।
यसैगरी ‘ग्यालेक्सी ट्याब एस–८ प्लस’मा १२.४ इन्चको ओएलडी टचस्क्रिन डिस्प्ले हुनेछ। ५.७ एमएम आकारको यो ट्याबमा दश हजार ९० एमएएच ब्याट्री पावर हुनेछ।
अर्को ट्याब ‘ग्यालेक्सी ट्याब एस–८ अल्ट्रा’मा भने १४।६ इन्चको ओएलइडी डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट हुनेछ। यसको अगाडीपट्टि दुईवटा ८ मेगापिक्सल र ५ मेगापिक्सलको अल्ट्रावाइड सेल्फी क्यामरा हुनेछ। साथै यसमा अन्डर–डिस्प्ले फिगंरप्रिन्ट सेन्सर फिचर हुनेछ।
यो ट्याब ५.५ एमएम आकारको हुनेछ र दुईवटा संस्करण– ८ जिबी र्यामको साथ १२८ जिबी आन्तरिक स्टोरेज र १२ जिबी र्यामको साथ ५१२ जिबीको आन्तरिक स्टोरेजमा उपलब्ध हुनेछ।
यी तीन मोडलका मूल्य आधिकारिक रुपमा सार्वजनिक नभएपनि अनुमान भने लगाइएको छ।
‘ग्यालेक्सी ट्याब एस–८’को मूल्य करिब ९ सय २३ अमेरिकी डलर, ‘ग्यालेक्सी ट्याब एस–८ प्लस’को एक हजार २ सय १० अमेरिकी डलर र ‘ग्यालेक्सी ट्याब एस–८ अल्ट्रा’को मूल्य एक हजार २ सय २८ पर्न सक्ने जीएसएम एरेनाले लेखेको छ।