एप्पलको नयाँ संस्करण आइओएस १४.६ को अपडेटपछि आइफोनमा ब्याट्री ह्वात्तै घटेको गुनासो आएको छ।
केही महिनाअघि सार्वजनिक भएको आइओएस १४.६ ले आइफोनको ब्याट्री चार्ज गरेर नचलाउँदा पनि धेरै कम हुने प्रयोगकर्ताले रिर्पोट गरेका छन्।
यो अपडेट आइफोन र अन्य उपकरणमा भएका समस्या कम गर्न ल्याइएको थियो। साथै यसमा एप्पल कार्ड फ्यामेली, एप्पल पोडकास्ट सबस्क्रिप्सन, एयरट्याग लगायत थपिएको छ। यी नयाँ फिचरसँगै ब्याट्री छिटो सकिने समस्या पनि आइफोनमा देखिएको ग्याजेट ३६०ले जनाएको छ।
यही समस्यालाई लिएर एप्पल सपोर्ट फोरममा प्रयोगकर्ताले थुप्रै पोस्टहरु लेखेका छन्।
एक आइफोन प्रयोगकर्ताका अनुसार फोन नचलाउँदा पनि ब्याट्री एक रातमा ७० प्रतिशतले घटेको थियो। अर्का प्रयोगकर्ताले भने आइफोन राती चार्ज गरेर छोड्दा बिहान चलाउँदा ह्वात्तै घट्ने बताएका छन्।
रातभर आइफोन नचलाउँदा ब्याट्री केही प्रतिशतले कम हुनु एप्पल प्रयोगकर्ताका लागि सामान्य विषय थियो, तर नयाँ आइओएस अपडेटपछि ब्याट्री धेरै प्रतिशतले घटेको हुँदा प्रयोगकर्ताको चासो बढेको हो।
ग्याजेट ३६०का अनुसार आइफोनमा ब्याट्री छिटो घट्ने समस्याको मुख्य कारण स्पष्ट भएको छैन। प्रयोगकर्ताले भने एप्पल पोडकास्ट र एयरट्याग थपिएपछि ब्याट्री चाडोँ सकिने समस्या देखिएको बताएका छन्।
यसअघि पनि एप्पलका उपकरणमा ब्याट्री कम हुने समस्या देखिरहेको थियो। सन् २०२० मा ‘आइफोन–१२ प्रो’मा देखिएको ब्याट्री समस्या धेरै प्रयोगकर्ताले भोग्नु परेको थियो।
अहिले आएको गुनासो सिमित प्रयोगकर्ताले मात्र गरेको हुँदा आइओएस १४.६ ले सबै आइफोनको ब्याट्रीमा खराबी नदेखाउन सक्ने रिर्पोटले उल्लेख गरेको छ।