चिनियाँ कम्पनी बिबिके इलेक्ट्रोनिक्सले वानप्लस स्मार्टफोनको नयाँ मोडल सार्वजनिक गर्ने भएको छ।
जिएसएम एरेनाका अनुसार कम्पनीले यही जुन १० मा नयाँ ‘वानप्लस नोर्ड सिइ ५–जी’ स्मार्टफोन ल्याउने भएको हो। नयाँ स्मार्टफोनबारे कम्पनीले सानो टिजर मात्र देखाएपनि केही लिंकहरुले त्यसका फिचरहरु अनुमान लगाइसकेका छन्।
वानप्लसको ‘नोर्ड सिइ ५–जी’का फिचरहरु पुरानो स्मार्टफोन ‘वानप्लस नोर्ड’ जस्तै छ। नयाँ स्मार्टफोनमा कम्पनीले थप फिचर ल्याउन सक्ने रिर्पोटले जनाएको छ।
‘नोर्ड सिइ ५–जी’मा ६.४३ इन्चको एमोलेड टच स्क्रिन डिस्प्ले हुनेछ। यसमा ९० हर्जको रिफ्रेस रेटका साथै इनडिस्प्ले फिगंरप्रिन्ट सेन्सर फिचर हुनेछ।
यो स्मार्टफोनको पछाडीपट्टि तीनवटा क्यामरा हुनेछ, जसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रावाइड र २ मेगापिक्सलको डेप्थ सेन्सर हुनेछ। यसको अगाडिपट्टि भने १६ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ।
‘नोर्ड सिइ ५–जी’ दुईवटा स्टोरेज संस्करणको साथ उपलब्ध हुनेछ, ६ जिबी र्याममा ६४ जिबीको आन्तरिक स्टोरेज र ८ जिबी र्याममा १२८ जिबीको आन्तरिक स्टोरेज।
स्नैपड्रागन ७५०–जी चिप्सेट प्रोसेसर भएको यो स्मार्टफोनमा चार हजार पाँच एमएएचको ब्याट्री पावर हुनेछ। यसमा भएको ३० वाटको फास्ट चार्जिङ फिचरले फोनको ब्याट्री ३० मिनेटमा नै शून्य प्रतिशतबाट ७० प्रतिशतसम्म बढ्ने जिएसएम एरेनाले बताएको छ।
‘नोर्ड सिइ ५–जी’ सँगै आउने हेडफोन ज्याक ३.५ एमएमको हुनेछ। यो फोनको फ्रेम र पछाडिका कबर प्लास्टिकको हुनेछ भने अगाडिको स्क्रिन ग्लासले कबर गरिएको हुन्छ।
भारतमा ‘नोर्ड सिइ ५–जी’को प्रि–अर्डर जुन ११ बाट सुरु हुनेछ।