चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सन् २०२२ को अन्तसम्म २० वटा ५–जी मोडलका फोन ल्याउने घोषणा गरेको छ।
आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले आयोजना गरेको अनलाइन कार्यक्रममा विश्वभरका लाखौँ प्रयोगकर्ताका लागि ५–जी नेटवर्कको पहुँच दिने योजना रहेको बताएको हो।
जीएसएम एरेनाका अनुसार हाल रियलमीको केबल १४ वटा ५–जी मोडलका फोन छ, जुन बजारमा उपलब्ध रेलमीका स्मार्टफोनको ४० प्रतिशत हो। अब भने कम्पनीले आफ्ना ५–जी स्मार्टफोनको संख्या र बिक्री बढाउने छ। यसका लागि रियलमीले दश हजारको सस्तो मूल्यमा आउने ५–जी स्मार्टफोन ल्याउने योजना पनि बनाइरहेको छ।
यसरी रेलमीले सन् २०२४ सम्म दश करोड ५–जी स्मार्टफोन प्रयोगकर्तामाझ पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रममा रियलमीले जुनको अन्तमा आफ्नो जिटी सिरिजका दुई नयाँ मोडलहरु सार्वजनिक गर्ने योजनाको खुलासा पनि गरेको थियो। यी दुई नयाँ स्मार्टफोन विशेषगरी फोनको प्रदर्शनमा केन्द्रित हुनेछ।
जिटी सिरिजको ‘रियलमी जिटी ५–जी’ कम्पनीले गत मार्च चीनमा सार्वजनिक गरेको थियो। यही मोडल अब यहीँ जुनदेखि विश्व बजारमा उपलब्ध हुनेछ।
बजारमा आफ्नो ५–जी स्मार्टफोनको बिक्री विस्तार गर्न कम्पनीले रियलमी जिटीलाई फ्ल्यागशिप फोन सिरिज बनाइरहेको रिर्पोटले जनाएको छ।