एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागू हुने गरी विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ।
नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन्।
गत जेठ ९ गते नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी १९ देशहरुका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृती प्रदान गरेको थियो।
प्राधिकरणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ।
नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्क अनुसार उक्त १८ वटा देशहरुको शुल्क कर बाहेक प्रति मिनेट ३० रुपैयाँ निर्धारण गरिएको छ। माल्दिभ्सको प्रति मिनेट कल शुल्क कर बाहेक ३०.६५ रुपैयाँ निर्धारण भएको छ।
यसअघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रति मिनेट ४.९९ रुपैयाँ देखि १५ रुपैयाँसम्म लाग्ने गरेको थियो।
अझैपनि माल्दिभ्सको लागि एनसेलको प्रति मिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्क भन्दा निकै नै कम छ।
अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै नै कम भयो। साथै सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारण ५ वर्षदेखि एनसेलले अन्तर्राष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको बताएको छ।