एप्पलले केही समयअघि आयोजना गरेको आफ्नो वार्षिक विकासकर्ता सम्मेलनमा नयाँ आइओएस १५ आउने घोषणा गरेको थियो।
अहिले एप्पलका विकासकर्ताका लागि मात्र सार्वजनिक भएको यो संस्करण छिट्टै सबै आइफोन प्रयोगकर्तामाझ उपलब्ध हुने सिएनबिसीले जनाएको छ।
आइओएस १५ को अपडेटमा कम्पनीले थुप्रै नयाँ फिचरहरु समावेश गरेको छ। जसमा आइफोन प्रयोगकर्ताले एन्ड्रोइड प्रयोगकर्तासँग ‘फेसटाइम’ गर्न पाउने विशेष परिवर्तनको रुपमा मानिएको छ।
हालसम्म फेसटाइम एप एप्पलका उपकरणहरुमा मात्रै हुने गर्थ्याे। यो एपबाट गुणस्तरिय भिडियो च्याट गर्न सकिने सुविधा छ। आइओएस १५ अन्तर्गत भने एप्पल प्रयोगकर्ताले आफ्ना एन्ड्रोइड साथीसँग फेसटाइमबाट भिडियो च्याट गर्न सक्नेछन्।
यसको लागि आइफोन, आइप्याड वा म्याकमा हुने एउटा बटनबाट फेसटाइम भिडियो सुरु गर्न लिंक बनाउन सकिन्छ। त्यो लिंक एन्ड्रोइड प्रयोगकर्तालाई सेयर गरेर फेसटाइम गर्न मिल्नेछ।
यसैगरी एप्पलले ‘सेयरप्ले’ भन्ने फिचर ल्याएको छ। यो फिचरबाट प्रयोगकर्ताले फेसटाइम गर्दागदै फिल्मका साइट वा टिकटक खोलेर सँगै भिडियो हेर्न सक्छन्। भिडियो हेर्दा स्क्रिन सेयर गर्ने प्रयोगकर्ताले पज वा फास्ट फर्वाड गरे भने अर्कोपट्टि पनि सँगै परिवर्तन हुन्छ।
यदि कोही साथीले आइमेसेजमा फोटोहरु पठाएका छन् भने आइफोनमा ती फोटो ‘सेयर्ड विथ इउ’ सेक्सनमा गएर बस्छ। यस नयाँ सेक्सनमा आफूलाई आएको फोटो कसले सेयर गरेको हो नाम समेत देखाइएको हुन्छ, र यो फिचर आइओएस १५ मा मात्रै पाउन सकिन्छ।
नयाँ संस्करणमा आइफोन प्रयोगकर्ताको ग्यालरीमा भएका फोटोहरुबारे विस्तृत जानकारी पनि पाउन सकिने सिएनबिसीले बताएको छ। यसमा आइफोनले ग्यालेरीमा हुने जनावर, ल्यान्डमार्क, बोटबिरुवा वा किताबको फोटो स्क्यान गरेर त्यसको सबै कुरा थाहा पाउन सकिन्छ। यो फिचर एन्ड्रोइडको गुगल लेन्स जस्तै हुनेछ।
यससँगै आइओएस १५को अपडेटपछि प्रयोगकर्ताले फोटोमा हुने शब्द, वाक्य, अंकलाई कपि, पेस्ट र ट्रान्स्लेट समेत गर्न सक्छन्। यो फिचर पुराना अपडेटहरु भन्दा नौलो र नयाँ रहेको छ।
सिएनबिसीका अनुसार आइओएस १५ मा अन्य थुप्रै नयाँ अपडेटहरु छन्। प्रयोगकर्ता यसका जानकारी एप्पलको आधिकारिक साइटमा पनि हेर्न सक्छन्।
आइओएस १५ आइफोन ६ यसपछिका नयाँ आइफोन मोडलहरुमा मात्र डाउनलोड गर्न सकिने एप्पलको भनाइ छ।