सामसङको नयाँ ‘ग्यालेक्सी एस–२१ एफइ’ मोडल आउँदो जुलाईमा सार्वजनिक हुन सक्ने अनुमान थियो। तर, हाल केही रिपोर्टले सो नयाँ फोन बजारमा नआउने बताएको छ।
कोरियन अनलाइन अखबार इटीन्युजले छापेको समाचारअनुसार सामसङले ‘ग्यालेक्सी एस–२१ एफइ’को उत्पादन बन्द गरेको आरोप लागेको छ।
विश्वव्यापी बजारमा मोबाइलमा राखिने चिपको अभावपछि फोनको उत्पादन रोकिएको इटीन्युजको भनाइ छ।
सामसङले आफ्ना नयाँ स्मार्टफोनमा स्न्यापड्रागन ८८८ चिपसेट प्रयोग गर्ने बताएको थियो। चिपसेटको उत्पादनमा अभाव हुन थालेपछि कम्पनीको स्मार्टफोन उत्पादनमा पनि ठप्प भएको हल्ला छ।
इटीन्युजको उक्त समाचार अहिले अनलाइनबाट हटाइएपनि ग्राहकमाँझ ‘ग्यालेक्सी एस–२१ एफइ’ सार्वजनिक हुने वा नहुनेबारे प्रश्न उठिरहेको छ।
यता प्रोसेसर चिप निर्माण कम्पनी क्वालकमले पनि चिपको उत्पादन थोरै भएकोले यसले स्मार्टफोन कम्पनीलाई समस्या परिरहेको जनाएको छ। क्वालकमले चिपको अभाव अझै एक वर्षसम्म हुने बताएको छ भने अर्को कम्पनी इन्टेल चिपको अभाव दुई वर्षसम्म हुने भनेको छ।
सामसङले भने ‘ग्यालेक्सी एस–२१ एफइ’बारे चलेको हल्लामा कुनै प्रतिकृया दिएको छैन।
ब्लुमबर्गसँगको कुराकानीमा कम्पनीले आगामी नयाँ स्मार्टफोनको सम्बन्धमा केही निर्णय नभएको उल्लेख गरेको छ।