एप्पलले आफ्नो नयाँ एप्पल घडी यस वर्षको अन्तिमतिर सार्वजनिक गर्ने भएको छ।
ब्लुमबर्गका अनुसार नयाँ एप्पल घडीमा थुप्रै फिचरहरु थपिने छ, जसमा प्रयोगकर्ताले यसको डिस्प्ले र ब्यान्डमा केही परिवर्तन पाउनेछन्।
‘एप्पल वाच सिरिज ७’ नाम दिइने नयाँ घडी सानो आकारको हुनेछ। यसको डिस्प्ले पातालो हुनेछ र नयाँ लेमिनेसन प्रविधिले डिस्प्ले र फ्रन्ट कभरबीचको दुरी कम गर्ने रिर्पोटले जनाएको छ।
कम्पनीले गत वर्ष सार्वजनिक भएको ‘एप्पल वाच सिरिज ६’मा देखाइएका समस्यालाई सुधार गर्दै नयाँ एप्पल घडीमा अल्ट्रा–वाइडब्यान्ड कनेक्टिभिटी ल्याउने बताएको छ।
यी दुई सुधार यस वर्ष उपलब्ध हुने एप्पल घडीमा देखिने भएपनि प्रयोगकर्ताहरु अर्को वर्ष सार्वजनिक हुन सक्ने ‘एप्पल वाच सिरिज ८’को लागि उत्साहित छन्।
सन् २०२२ मा आउने भनिएको ‘एप्पल वाच सिरिज ८’ले प्रयोगकर्ताको शरीर तापक्रम नाप्न सक्ने जीएसएम एरेनाले लेखेको छ।
सो नयाँ घडीबाट प्रयोगकर्ताले आफ्नो रगत जाँच नगराइ शरीरमा मधुमेह स्तर, रक्तचाप र रक्सीको स्तर समेत थाहा पाउन सक्नेछन्।
‘एप्पल वाच सिरिज ८’ मोडलसँगै कम्पनीले अपडेट गरिएको ‘एप्पल वाच एसइ’ मोडल र नयाँ खेल केन्द्रित मोडल ल्याउने ब्लुमबर्गले उल्लेख गरेको छ।
एप्पलले यी कुनैपनि मोडल सार्वजनिक हुनेबारे आधिकारिक जानकारी नदिएको हुनाले योजनाहरु अन्तिम समयमा परिवर्तन पनि हुन सक्नेछ।