आइप्याड उत्पादन गर्ने विषयमा एप्पल सधैँ पहिलो स्थानमा पर्ने गर्छ।
सन् २०२० को मार्चदेखि विश्व बजार कोरोना महामारीको कारण तल झरे पनि एप्पलले चारवटा नयाँ आइप्याड मोडलहरु सार्वजनिक गरिसकेको छ। ती मोडलमा दुईवटा नयाँ आइप्याड प्रो, आइप्याड एयर र एउटा पुरानै मोडलको आइप्याड छ।
काउन्टरपोइन्ट रिसर्चले निकालेको एक रिर्पोट अनुसार एप्पलका यी चार नयाँ आइप्याडमध्ये एउटा विश्वकै सबैभन्दा चर्चित मोडलमा परेको छ। जसमा आठौँ जेनेरेसनको १०.२ इन्च डिस्प्ले भएको आइप्याड चर्चित आइप्याडको सूचीमा पहिलो स्थानमा रहेको छ।
‘ग्राहकहरु मुख्यगरी उपकरणको मूल्य र पोर्टेबिलिटीमा ध्यान दिने भएकोले नयाँ ‘आइप्याड जेनेरेसन ८’ राम्रो रोजाइमा परेको छ,’ काउन्टरपोइन्टका वरिष्ठ विश्लेषक लिज लीले भने, ‘यही कारण यो मोडल बढी ब्रिकी हुने आइप्याडको सूचीमा पनि परेको हो।’
‘आइप्याड जेनेरेसन ८’को पछाडिपट्टि ८ मेगापिक्सलको क्यामरा छ भने यसको सेल्फी क्यामरा १.२ मेगापिक्सलको छ। यो ट्याब्लेट ३ जिबी र्याम र ३२÷१२८ जिबी इन्टरनल स्टोरेजमा उपलब्ध छ।
नेपाली बजारमा ‘आइप्याड जेनेरेसन ८’को मूल्य ५८ हजार रहेको छ।
सन् २०२० मा ठूलो स्क्रिन भएको मोबाइल माग बढेलगत्तै विश्वभर ट्याब्लेटको बजार १९ प्रतिशतले बढेको थियो। यसले गर्दा एप्पलको आइप्याड र अन्य कम्पनीका ट्याब्लेटले राम्रो व्यापार भयो।
गत वर्ष मात्रै एप्पलले ३३ प्रतिशतभन्दा धेरै आइप्याड बिक्री गरेको थियो। यो वर्षको पहिलो त्रैमासिकमा बजारमा यसको बिक्री ३७ प्रतिशतले बढेको छ।
यसैगरी धेरै संख्यामा ट्याब्लेट बिक्री गर्ने सूचीको दोस्रो स्थानमा सामसङ र तेस्रोमा लेनोभो परेको ग्याजेटनाउले बताएको छ।