चिनियाँ स्मार्टफोन कम्पनी साओमीले नयाँ फोल्डएबल फोन ल्याउने भएको छ।
ग्याजेट ३६० का अनुसार गत मार्च पहिलो स्मार्टफोन सार्वजनिक भएसँगै साओमीले त्यसैको लाइनअप बनाइरहेको हो।
कम्पनीले आउँदो नयाँ फोल्डएबल फोनबारे विवरण नदिएपनि सो फोनका केही फिचरहरु वेइबोमा लिक भएको छ।
‘एमआई मिक्स फोल्ड’को सफलतापछि उत्पादन हुनलागेको नयाँ फोल्डएबल फोनको नाम ‘एमआई मिक्स फोल्ड–२’ हुन सक्ने रिर्पोटले अनुमान गरेको छ। यो फोन भित्रपट्टि फोल्ड गर्न मिल्ने डिजाइनको साथ आउनेछ।
सामसङको ‘ग्यालेक्सी जेड फोल्ड–२’ मोडलमा पनि भित्रपट्टि फोल्ड गर्न मिल्ने डिजाइन भएकोले नयाँ ‘एमआई मिक्स फोल्ड–२’ त्यसको प्रतिस्पर्धि उपकरण हुने ग्याजेट ३६० ले बताएको छ।
यो फोनमा ‘प्रोएक्टिभ अन्डर–स्क्रिन टेक्नालोजी’ हुनेछ। यसको बाहिर र भित्र दुवै पट्टि उच्च रिफ्रेस रेट भएको डिस्प्ले हुनेछ।
‘एमआई मिक्स फोल्ड–२’को खास विशेषता भनेको यो फोनमा १०८ मेगापिक्सलको प्राइमेरी क्यामरा हुनेछ। यसमा पाँच हजार एमएएचको ब्याट्री पावर हुनेछ भने यो फोन क्वालकोम स्नैपड्रागन ८८८ को प्रोसेरले बन्नेछ।
साओमीले आफ्नो नयाँ स्मार्टफोनको लागि थुप्रै अपग्रेड गरिरहेको अनुमान छ, तर कम्पनीले हालसम्म कुनै आधिकारिक जानकारी नदिएको हुनाले यसको फिचर थाहा पाउन उपकरण सार्वनजिक हुने मितिको प्रतिक्षा गर्नुपर्ने हुन्छ।
साओमीले यही वर्षको अन्तिमतिर ‘एमआई मिक्स फोल्ड–२’ सार्वजनिक गर्ने भनिएको छ। कम्पनीले स्मार्टफोन सार्वजनिक गर्नु अघि त्यसका केही विवरणबारे टिजरपनि निकाल्न सक्ने ग्याजेट ३६० ले उल्लेख गरेको छ।