हामीलाई सामाजिक सञ्जालमा देखिने कतिपय भिडिओहरू आफ्नो मोबाइल वा कम्प्युटरमा डाउनलोड गर्न मन लाग्छ।
जस्तै फेसबुक र ट्वीटरमा थुप्रै भिडिओ आइरहेका हुन्छन् जुन इन्टरनेट भएका बेला मात्र हेर्न मिल्छ।
ती भिडिओ आफ्नो उपकरणमा डाउनलोड गर्नसके बिना इन्टरनेट जतिबेला पनि हेर्न सकिन्छ। तर ट्वीटर र फेसबुकबाट भिडियो सिधै कम्प्युटर वा मोबाइलमा डाउनलोड गर्न मिल्दैन। यी साइटमा भिडिओ सेभ वा डाउनलोड गर्ने विकल्प देखाइएको हुँदैन।
त्यसो भए ट्वीटर र फेसबुकबाट भिडिओ कसरी डाउनलोड गर्ने त?
ट्वीटर र फेसबुकबाट भिडिओ सिधै सेभ गर्न नमिल्ने भए पनि थर्ड–पार्टी वेबसाइटबाट डाउनलोड गर्न सक्छौं।
जब एउटा वेबसाइट अर्को कुनै वेबसाइटको कामका लागि प्रयोग गरिन्छ त्यसलाई थर्ड–पार्टी वेबसाइट भनेर बुझिन्छ। यस्ता वेबसाइट हामीले आफ्नो कम्प्युटर वा मोबाइलको वेब ब्राउजरमा खोज्दा भेट्टाउन सक्छौं। थर्ड–पार्टी वेबसाइट भएपछि प्रयोगकर्ताले भिडिओ डाउनलोड गर्न अरू छुट्टै एप डाउनलोड गरिरहनु पर्दैन। यसका लागि कम्प्युटरमा प्रोग्रामहरू डाउनलोड गर्न पनि पर्दैन।
हामीले इन्टरनेटमा पाउने भिडिओ डाउनलोडर वेबसाइट सर्च गरेर भिडिओ डाउनलोडको काम अगाडि बढाउन सक्छौं।
इन्टरनेटमा भिडिओ डाउनलोडर, फबिडाउननेट डट नेट, ट्वीटरभिडिओ डाउनलोडर डट कम, सेभफ्रम डट नेट, वाइ२मेट डट कम, जस्ता कयौं थर्ड–पार्टी वेबसाइट छन्, जसबाट भिडिओ डाउनलोड गर्न सकिन्छ।
अब यी थर्ड पार्टी वेबसाइटमा गएर आफ्नो रोजाइको भिडिओको लिंक कपि गर्ने। त्यो लिंकलाई भिडिओ डाउनलोडर वेबसाइटमा पेस्ट गरेपछि भिडिओको फाइल पाउन सकिन्छ। कुनै वेबसाइटमा त भिडिओलाई अडिओमा परिवर्तन गरेर डाउनलोड गर्न मिल्ने अप्सन पनि हुन्छ।
फेसबुकबाट भिडिओ डाउनलोड गर्न इन्टरनेटमा पाउन सकिने जुनसुकै फेसबुक भिडिओ डाउनलोडर वेबसाइट प्रयोग गर्दा हुन्छ।
त्यसपछि फेसबुकमा गई आफूलाई मनपर्ने भिडिओ क्लिक गर्नुपर्छ। भिडिओको माथिल्लो दाँयापट्टि तीनवटा थोप्लो भएको चिह्न हुन्छ। त्यसमा क्लिक गर्दा 'कपि लिंक' भन्ने अप्सन देख्न सकिन्छ।
'कपि लिंक'मा क्लिक गरेपछि भिडिओको तल 'लिंक टु पोस्ट कपिड टु क्लिपबोर्ड' भनेर देखाउँछ। त्यो लिंक फेसबुक भिडिओ डाउनलोडर वेबसाइटमा गएर पेस्ट गर्ने र 'डाउनलोड' बटन क्लिक गर्नुपर्छ। भिडिओ आफ्नो इच्छाअनुसार एचडी वा सामान्य गुणस्तरमा डाउनलोड गर्न सकिन्छ।
भिडिओ डाउनलोड भएपछि त्यसमा राइट क्लिक गरेर सेभ अप्सनबाट आफ्नो कम्प्युटर वा मोबाइलमा पाउन सकिन्छ।
अब ट्वीटरको कुरा गरौं।
ट्वीटरबाट भिडिओ डाउनलोड गर्ने तरिका पनि उस्तै हो। इन्टरनेटमा ट्वीटरभिडिओ डाउनलोडर वेबसाइट खोजेर ट्वीटरका भिडिओ डाउनलोड गर्ने हो।
ट्वीटरमा आफूले चाहेको भिडिओमा क्लिक गरेपछि त्यसको तल दाँयापट्टि छेउमा एउटा तीर 'एरो' चिह्न हुन्छ। त्यस चिह्नलाई क्लिक गर्दा 'कपि लिंक टु ट्वीट' भन्ने अप्सन देखाउँछ। त्यसमा क्लिक गरेपछि 'कपिड टु क्लिपबोर्ड' भनेर आउँछ।
कपि गरेको लिंकलाई ट्वीटरभिडिओ डाउनलोडर वेबसाइटमा पेस्ट गरेर डाउनलोड बटन क्लिक गर्नुपर्छ। भिडिओ डाउनलोड भएपछि आफ्नो मोबाइल वा कम्प्युटरमा सेभ गर्न भिडिओमा राइट क्लिक गरेर सेभ अप्सन थिच्नु पर्छ।
यसरी हामीले फेसबुक र ट्वीटरबाट भिडिओ आफ्नो मोबाइल र कम्प्युटरमा डाउनलोड गरेर हेर्न सक्छौं।