नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आइतबारदेखि फाइबर टु दी होम (एफटिटिएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ।
एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण सुरु गरिएको हो।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए।
टेलिकमले एफटिटिएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेको थियो। अब एनटी टिभी सेवा पनि उपलब्ध गराएपछि ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउने भएको हो।
हाल विस्तरित एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेका छन्।
साथै नेपालमा उपलब्ध र हेरिने प्रायः सबै विदेशी टेलिभिजन च्यानलहरु ग्राहकहरुलाई उपलब्ध हुनेछ।
हाल कम्पनीले बेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको छ। वेसिकमा एक सय दुई वटा टेलिभिजन च्यानलहरु र प्रिमियममा एक सय ८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिने टेलिकमले जनाएको छ।
टेलिकमले २०७७ पुष १७ गते पहिलोपटक एनटी टिभी सेवाको वितरण सुरु गरेको थियो । हाल यो सेवा काठमाडौं उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ।