एप्पलको नयाँ ‘आइफोन १३’ सार्वजनिक हुन अझै तीन चार महिना बाँकी छ, तर आइफोन प्रशंकहरुबीच फैलिएको नयाँ आइफोनमा कस्ता फिचर हुनेछ भन्ने हल्ला फैलिसकेको छ।
हालसम्म लिक भएका जानकारी अनुसार नयाँ आइफोनको नाम ‘आइफोन १३’ हुने कुरामा नै अलमल भइरहेको छ। यसमा हुने डिजाइन र फिचर पुराना मोडलभन्दा थोरै मात्र परिवर्तन हुने भएकोले ‘आइफोन १२ एस’ नाम राखिन सकिने ९टु५ म्याकले लेखेको छ।
यो नयाँ आइफोनको डिजाइन आकार मोटो हुने र यसमा ठूलो क्यामरा लेन्स हुनेछ। ठूलो क्यामरा लेन्स भने प्रो सिरिजका मोडलमा हुनेछ।
‘आइफोन १३’मा हुने नयाँ नोचको डिजाइन पनि एउटा परिवर्तनको रुपमा मानिएको छ। नोच भनेको स्क्रिन डिस्प्लेमाथि हुने सानो काटिएको जस्तो भाग हो जसमा सेल्फी क्यामरा र सेन्सर समावेश हुन्छ।
पुराना मोडलमा भएका ठूलो नोच स्मार्टफोन डिजाइनर र प्रयोगकर्ता मन नपराएपछि एप्पलले ‘आइफोन १३’मा सानो नोच राख्ने भएको छ।
अमेरिकाको विश्वव्यापी बजार अनुसन्धान कम्पनी ‘डिस्प्ले सप्लाइ चेन कन्सलटेन्ट’का संस्थापक रोस योंगका अनुसार ‘आइफोन १३’का सिरिजमा चार नयाँ मोडल समावेश हुनेछन्। जसमा ५.४२ इन्चको आइफोन १३, ६.०६ इन्चको आइफोन १३, ६.६ इन्चको आइफोन १३ प्रो र ६.६७ इन्चको आइफोन १३ प्रो म्याक्स हुनेछ।
रोस योंगका अनुसार ५.४२ इन्च र ६.०६ इन्चको ‘आइफोन १३’मा दुइवटा क्यामरा हुनेछ।
अरु दुई, ‘आइफोन १३ प्रो’ र ‘आइफोन १३ प्रो म्याक्स’मा भने तीनवटा क्यामरा फिचर समावेश हुने उनको अनुमान छ।