फेसबुकमा कोही व्यक्तिसँग दोहोरो कुरा गर्न च्याट बाहेक भ्वाइस मेसेजको पनि सुविधा छ।
किबोर्डमा टाइप गर्न असहज भएका बेला वा दोस्रो व्यक्तिले लेखिएका भाषा पढ्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै फेसबुकले सन् २०१३ मा भ्वाइस मेसेज फिचर ल्याएको हो।
फेसबुकमा भ्वाइस मेसेज एक मिनेटसम्म बोलेर पठाउन सकिन्छ। भ्वाइस मेसेज पठाउनका लागि फेसबुकको मेसेन्जरमा गइ च्याट बक्सको तलपट्टि हुने ‘रेकर्ड भ्वाइस’ अप्सनमा क्लिक गरेर आवाज रेकर्ड गर्न सकिन्छ।
फेसबुक मेसेन्जरमा आउने फोटो र भिडिओ त सजिलै डाउनलोड गरेर आफ्नो मोबाइल वा कम्प्युटरमा सेभ गर्न मिल्छ। तर, मेसेन्जरमा भ्वाइस मेसेज भने डाउनलोड गर्न मिल्ने कुनै सुविधा छैन।
फेसबुक मेसेन्जरबाट भ्वाइस मेसेज सिधै डाउनलोड गर्न नमिले पनि यसका लागि अरू तरिका छ। भ्वाइस मेसेज डाउनलोड गर्न सुरूमा हामीले मोबाइल भर्जनको फेसबुक खोल्नु पर्ने हुन्छ।
गुगलको सर्च ब्राउजरमा गइ ‘एम डट फेसबुक डट कम’ सर्च गरेपछि मोबाइल भर्जनको फेसबुक खोलिन्छ। यो मोबाइल भर्जनको फेसबुकको डिजाइन हामीले चलाउने सामान्य फेसबुकको भन्दा अलि फरक हुन्छ।
मोबाइल भर्जनको फेसबुक खोलिसकेपछि यसको माथिल्लो दायाँपट्टि मेसेन्जरको चिह्न देख्न सकिन्छ। त्यसमा क्लिक गरेर हामीले आफूले डाउनलोड गर्न चाहेको अडिओ मेसेज खोज्ने।
सो अडिओ मेसेजको छेउमै तीन वटा थोप्लो भएको चिह्न हुन्छ। त्यसमा क्लिक गर्दा डाउनलोड भन्ने अप्सन देखाउँछ।
यसरी त्यो डाउनलोड अप्सनलाई क्लिक गरेर हामीले अडिओ मेसेज सजिलै आफ्नो कम्प्युटर वा ल्याप्टपमा सेभ गर्न सक्छौं र इन्टरनेट नभएको बेला पनि सुन्न सक्छौं।