अहिले इन्टरनेट बिना अधिकांशको दैनिकी चल्दैन। कार्यालयको काम गर्न होस् वा स्कुल-कलेजको अनलाइन कक्षा लिन, इन्टरनेट अनिवार्य छ।
तर सबैको घरमा इन्टरनेट जोडिएको हुँदैन। मोबाइल डेटाबाटै इन्टरनेट चलाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा घरमा ल्यापटप, कम्प्युटर वा ट्याब भए पनि प्रयोग हुँदैन। अझ एउटा मात्र मोबाइल भए कसले चलाउने भन्ने हुन्छ। तर मोबाइल हटस्पट प्रयोग गरेर यो समस्या सजिलै सुल्झाउन सकिन्छ।
हटस्पट अन गरेर मोबाइलबाट डेटा प्याक लिएर ल्यापटपमै मजाले इन्टरनेट चलाउन सकिन्छ। यसका विभिन्न तरिकाहरू छन्।
पहिलो तरिका हो मोबाइललाई युएसबी केबलमार्फत ल्यापटपमा कनेक्ट गरेर मोबाइल डेटा प्याक सेयर गर्ने। यसका लागि ल्यापटप, कम्प्युटर वा ट्याबमा युएसबी पोर्ट राख्ने ठाउँ भने हुन जरूरी छ। युएसबीबाट मोबाइललाई ल्यापटप अथवा अन्य डिभाइसमा कनेक्ट गरेपछि मोआइलमा केही सेटिङ्सहरू मिलाउनु पर्ने हुन्छ।
फोनको सेटिङ्समा 'कनेक्सन' भन्ने विकल्प हुन्छ। कुनै फोनमा 'वायरलेस एन्ड नेटवर्क' भन्ने विकल्पमा हुन्छ। यो विकल्पभित्र 'मोर' भन्ने हुन्छ। यहाँ 'टिथरिङ एन्ड पोर्टेबल हटस्पट' अथवा 'मोबाइल हटस्पट एन्ड टिथरिङ' भन्ने विकल्प देख्न सकिन्छ।
यसभित्र पनि विभिन्न विकल्पहरू देखिन्छ। सबैभन्दा माथि भएको 'युएसबी टिथरिङ' भन्ने विकल्पलाई अन गर्ने। यति गरेपछि ल्यापटपमा इन्टरनेट चल्छ। मोबाइल सिग्नलअनुसार इन्टरनेट फास्ट र स्लो भने हुन्छ।
कहिलेकाहीँ मोबाइलमा वाइफाइ चलेको तर ल्यापटपमा नचलेको समयमा यो तरिका अपनाउन सकिन्छ।
अर्को तरिका भनेको वाइफाइ हटस्पट अन गरेर हो।
यो तरिकाबाट फोनको हटस्पटबाट अन्य डिभाइससँग जोड्न सकिन्छ। यस्तोमा जुन फोनले हटस्पट डेटा दिइरहेको हुन्छ, त्यो फोन राउटर जसरी काम गरिरहेको हुन्छ। यसमा एकै पटक एउटा फोनको डेटालाई अरू फोन र ल्यापटप डिभाइसहरूसँग जोड्न सकिन्छ।
यसका लागि पनि सुरूमा मोबाइलको सेटिङ्समा भएको 'कनेक्सन' भन्ने विकल्पमा केही मिलाउनुपर्ने हुन्छ। यसभित्र 'मोबाइल हटस्पट' वा 'पोर्टेबल वाइफाइ हटस्पट' भन्ने हुन्छ। यसलाई अन गर्ने। केही बेरमा मोबाइल हटस्पट अन हुन्छ। यो सेयर गर्नका लागि पनि तयार हुन्छ। आफ्नो मोबाइलको हटस्पट सेयर गर्दा वाइफाइमा सेयर गरे जस्तै कुनै नाम राख्न सकिन्छ।
आफ्नो हटस्पट वरिपरिका अन्य अनजान व्यक्तिलाई कनेक्ट गर्नबाट रोक्न पासवर्ड पनि सेट गर्न सकिन्छ। मोबाइल हटस्पट कति समयलाई सेयर गर्ने भनेर पनि सेट गर्न सकिन्छ।
यो तरिकाबाट मोबाइल डेटा चलाउन ल्यापटपबाट पनि केही सेटिङ मिलाउनुपर्ने हुन्छ। मोबाइलबाट हटस्पट अन गरेपछि ल्यापटपको वाइफाइ सेटिङ्समा जाने। मोबाइलको नामको वाइफाइ देखाउँछ। यसमा कनेक्ट गर्ने। त्यसपछि मोबाइल डेटाबाट ल्यापटपमा इन्टरनेट चलाउन सकिन्छ।
त्यस्तै अर्को मोबाइलमा पनि यसरी नै कनेक्ट गर्न सकिन्छ।
अब बीचमै इन्टरनेट डिस्कनेक्ट भए यी तरिकाले आफ्नो मोबाइलबाट ल्यापटप वा अन्य डिभाइसमा डेटा कनेक्ट गरेर चलाउन सकिन्छ।
मोबाइलमा सिधै डाटा अन गर्दा बढी खर्चिलो हुन्छ। नेटवर्क सर्भिस प्रोभाइडरहरूले विभिन्न डेटा प्याक प्लानहरू दिएका छन्। डाटा प्याक लिएर मात्रै हटस्पट र युएसबी कनेक्ट गरेर इन्टरनेट कनेक्ट गर्दा राम्रो हुन्छ।