एप्पलको यस वर्ष नयाँ उपकरणहरु सार्वजनिक हुन अझै केही महिना बाँकी नै छ। गत वर्ष ‘आइफोन–१२’को सफलतापछि कम्पनीले ‘आइफोन–१३’ सार्वजनिक गर्ने अपेक्षा छ।
एप्पलका प्रशंसकहरु ‘आइफोन–१३’को प्रतिक्षामा रहेको बेला एप्पलका चर्चित विश्लेषक मिङ–ची कुओले भने सन् २०२२ मा आउन सक्ने आइफोनबारे जानकारी दिन थालेका छन्।
प्राय एप्पलका नयाँ मोडलबारे भविष्यवाणी मिलाइरहने मिङ–ची कुओले आउँदो वर्ष सस्तो मोडलको आइफोन आउने अनुमान लगाएका हुन्।
उनका अनुसार एप्पलले सन् २०२२ मा ‘आइफोन–१४’ को चारवटा मोडल सार्वजनिक गर्नेछ। जसमा पहिलो दुईवटा सामान्य मोडल र अर्को दुईवटा प्रो मोडल हुनेछ। ‘आइफोन–१४’का प्रो मोडलहरु ६.१ इन्च र ६.७ इन्चको डिस्प्लेमा आउँनेछन्।
६.७ इन्च डिस्प्ले भएको ‘आइफोन–१४’ हाइ–इन्ड मोडल हुनेछ। यसको मूल्य जम्मा नौ सय अमेरिकी डलर पर्ने कुओले बताएका छन्।
अहिले ‘आइफोन–१२’को हाइ–इन्ड मोडल ‘आइफोन–१२ प्रो म्याक्स’को मूल्य थोरैमा एक हजार ९९ अमेरिकी डलर छ। यो आइफोनमा पनि ६७ इन्चको डिस्प्ले छ। यसको तुलनामा ‘आइफोन–१४’का मोडल सस्तो रहेको इन्ग्याजेटले जनाएको छ।
यसैगरी आउँदो वर्ष आउने आइफोनका डिस्प्लेमा फिंगरप्रिन्ट सेन्सर हुनेछ। एप्पलले पछिल्ला आइफोनहरुमा फेस आइडी फिचर ल्याएसँगै फिंगरप्रिन्ट सेन्सर राखिएको थिएन। तर, कम्पनीले यो फिचरलाई फेरी निरन्तरता दिने अनुमान छ।
मिङ–ची कुओका अनुसार ‘आइफोन–१४’मा ४८ मेगापिक्सलको वाइड क्यामरा पनि हुनेछ। यसको लाइनअपमा ५.४ इन्च डिस्प्ले भएको आइफोन मिनी भने आउने छैन।