माइक्रोसफ्टले नयाँ संस्करण ‘विन्डोज–११’ सार्वजनिक गरेको छ। केही दिनअघि आधिकारिक रुपमा बजारमा आएको यो संस्करणलाई कम्पनीले विन्डोजको ‘नेक्स्ट जेनेरेसन’को रुपमा अघि सारेको हो।
यो संस्करणमा माइक्रोसफ्टले थुप्रै नयाँ फिचरसहित एकदुईवटा परिवर्तन ल्याएको छ। यसमध्ये कम्पनीले ‘विन्डोज–११’मा भिडियो कलिङ एप ‘स्काइप’लाई हटाएर अन्य भिडियो कलिङ एपलाई विस्तार गर्न खोजेको बिबिसीले बताएको छ।
माइक्रोसफ्टले स्काइपलाई पूर्णरुपमा बन्द गर्ने घोषणा गरेको छैन, तर ‘विन्डोज–११’मा भने स्काइप प्रि–इन्स्टल भएर आएको छैन। यसले कम्पनी अब स्काइपलाई बिस्तारै हटाउने तयारी गरिरहेको अनुमान लगाउन सकिन्छ।
दश वर्षअघि माइक्रोसफ्टले ‘स्काइप’ आठ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यमा किनेको थियो। त्यतिबेला नै ‘स्काइप’ एक अर्ब पटक डाउनलोड भइसकेको थियो र यसको दश करोडभन्दा बढी प्रयोगकर्ता थियो।
अनलाइन फोन, भिडियो कल वा अनलाइन मिटिङका उपयोगी रहेको यो एप लगभग सबै नयाँ कम्प्यूटरमा प्रि–इन्स्टल भएर आउँथ्यो। पछिल्ला वर्षमा यो एप अपडेट नभएको र यसको प्रफर्मेन्स नराम्रो भएको गुनासो पनि धेरै आउन थालेको थियो। कम्पनीले यस विषयमा धेरै ध्यान दिएको पाइएको थिएन।
त्यतिबेलातिरै मोबाइल मेसेजिङ एप ह्वाटसएप, फेसबुक र मेसेन्जरमा पनि चर्चामा आउन थालेको थियो। यी एपहरुले भिडियो कलिङ फिचर ल्याएपछि स्काइपको प्रयोगकर्ता सुस्ताउँदै गएका थिए।
कोरोनाको समयमा अर्को भिडियो कलिङ एप ‘जुम’ र ‘गुगल’को प्रयोगकर्ता ह्वात्तै बढेपछि ‘स्काइप’ प्रयोगकर्ताको संख्या न्यून भएको बिबिसीले जनाएको छ।
अहिले भने माइक्रोसफ्ट ‘स्काइप’जस्तै नयाँ एप ‘टिम्स’को तयारीमा लागेको छ। कम्पनीले यो एप ‘विन्डोज–११’मा प्रि–इन्स्टल समेत गरेको पाइन्छ।
यसरी माइक्रोसफ्टले ‘स्काइप’ अगामी वर्षहरु हटाउने कोशिस गरिरहेको केही प्रयोगकर्ताहरुको भनाइ छ। तै ‘विन्डोज–११’ डाउनलोड गरिसकेका प्रयोगकर्तालाई ‘स्काइप’ चलाउन परे माइक्रोसफ्ट स्टोरमा गएर डाउनलोड गर्न सकिने बिबिसीले उल्लेख गरेको छ।