एप्पलको स्मार्टघडीले महिलाको ज्यान बचाएको छ।
अमेरिकाको मिसिगनमा बस्ने एक महिला डियान फेन्स्ट्राको मुटुको धड्कन मापन गरेर एप्पल घडीले उनलाई हृदयघात हुनबाट बचाएको एप्पल इन्साइडरले बताएको छ।
गत अप्रिल २२ मा डियानले आफ्नो नाडीमा लगाएको एप्पल घडीमा मुटुको धड्कन उच्च भएको देखिन्। त्यो दिन उनले धेरै ब्याम नगरेपनि उनको मुटुको धड्कन प्रति मिनेट १६९ बिट्स थियो।
एप्पल घडीले देखाएको मापनपछि उनले आफ्नो श्रीमानलाई बोलाएर अस्पताल गइन्। अस्पतालमा डाक्टरले उनलाई त्यतिबेला हृदयघात भएको पृष्टि गरे। समयमा नै अस्पताल नलगेको भए डियानको ज्यानसमेत जान सक्ने डाक्टरले बताएका थिए।
‘हृदयघातका लक्षणहरु महिलामा फरक हुन्छ। त्योदिन मलाई मुटुको केही समस्या महसुस भएको थिएन, तर मेरो देब्रे हात दुखिरहेको थियो र देब्रे खुट्टा सुन्निएको थियो,’ डियानले भनिन्, ‘एप्पल घडीले मुटुको धड्कन मापन देखाएर म समयमा सतर्क भएँ। बेवास्ता गरेको भए अर्को पटक हुने हृदयघात अझ गम्भीर हुने थियो होला।’
एप्पल घडीमा मुटुको धड्कन मापन गर्ने फिचर छ। यो फिचरबाट प्रयोगकर्ताले आफ्नो मुटुको धड्कन कति छ भन्ने अपडेट सजिलै हेर्न सक्छन्। हाल एप्पल घडीका यस्तै थुप्रै फिचरका कारण यसले आफ्ना कयौं प्रयोगकर्ताहरुको ज्यान बचाएको समाचार आइरहेको छ।
गत फेब्रुअरीमा एप्पल घडीले प्रयोगकर्तामा एरिथमिया रोग पत्ता लगाएर समयमा सचेत गराएको थियो।
यसैगरी केही दिनअघि मात्र यो स्मार्टघडीले अमेरिकाको एक वृद्धलाई दुर्घटना स्थलबाट चाडैँ उद्धार गर्न मद्दत गरेको एप्पल इन्साइडरले उल्लेख गरेको छ।