सामसङले आफ्नो ए सिरिज फोन ‘ग्यालेक्सी ए–५२’को नयाँ मोडल ल्याउने भएको छ।
साममोबाइलका अनुसार कम्पनीले केही महिनाअघि सार्वजनिक गरेको ‘ग्यालेक्सी ए–५२’ स्मार्टफोनको नयाँ ‘एस’ संस्करण बनाउन लागेको हो।
गत मार्चमा सामसङले ‘ग्यालेक्सी ए–५२’ र ‘ग्यालेक्सी ए–५२ ५–जी’ बजारमा ल्याएको थियो। अहिले यी ग्राहकको बजेटभित्र पर्ने राम्रो स्मार्टफोन मानिन्छ। कम्पनीले अब ‘ग्यालेक्सी ए–५२ ५–जी’कै अपडेट संस्करण ‘ग्यालेक्सी ए–५२ एस ५–जी’को उत्पादन गर्न लागेको छ।
बजारमा सफलता पाएका आफ्ना फोनहरुको ‘एस’ संस्करण बनाउने चलन सामसङले पहिल्यैदेखि गर्दै आएको छ। सन् २०१९ मा सार्वजनिक भएको ‘ग्यालेक्सी ए–५०’ले राम्रो कमाइ गरेपछि कम्पनीले केही महिनामा नै ‘ग्यालेक्सी ए–५० एस’ मोडल ल्याएको थियो। पछिल्ला दुई वर्षदेखि कम्पनीले आफ्ना ‘ए’ र ‘एम’ सिरिजका स्मार्टफोनका ‘एस’ संस्करण बनाइरहेको छ।
‘ए’ सिरिजमा ‘ग्यालेक्सी ए–५१’ र ‘ग्यालेक्सी ए–५२’का कुनै ‘एस’ संस्करण स्मार्टफोन उत्पादन नभएपनि सामसङले ‘ग्यालेक्सी ए–५२ ५–जी’को नयाँ मोडल भने ल्याउन सक्ने अनुमान रहेको साममोबाइलले बताएको छ।
रिर्पोटका अनुसार ‘ग्यालेक्सी ए–५२ ५–जी’को उत्पादन कोरियामा हुनेछ। नयाँ मोडल भएकोले यो फोनका फिचरपनि अपडेट भएर आउनेछ।
यो नयाँ स्मार्टफोन राम्रो गुणस्तरको क्यामरासहित आउने आशा गरिएको छ।
कम्पनीले हालसम्म यसबारे कुनै जानकारी नदिएको हुँदा ‘ग्यालेक्सी ए–५२ ५–जी’को फिचर कस्तो हुन्छ धेरैलाई थाहा छैन।