एन्ड्रोइड स्मार्टफोनको लागि स्न्यापड्रैगन प्रोसेसर उत्पादन गर्ने कम्पनी क्वालकमले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ।
इलेक्ट्रोनिक कम्पनी असुससँगको सहकार्यमा बिहिबार क्वालकमले नयाँ फोन ‘स्मार्टफोन फर स्न्यापड्रैगन इन्साइडर’ सार्वजनिक गरेको हो। यो स्मार्टफोन क्वालकमले विशेषगरी आफ्नो ‘स्न्यापड्रैगन इन्साइडर’ समूहका सदस्यहरुका लागि ल्याएको ग्याजेट ३६०ले बताएको छ।
क्वालकमले ‘स्न्यापड्रैगन इन्साइडर’ समूह स्न्यापड्रैगन प्रोसेसर मनपराउने व्यक्तिका लागि गत मार्चमा बनाएको थियो। यो समूहमा भएका सदस्यहरुले स्न्यापड्रैगन प्रोसेसर भएका हरेक उपकरणबारे सार्वजनिक मिति अगाडि नै जानकारी पाउँछन्। यिनै सदस्यलाई लक्षित गरेर कम्पनीले ‘स्मार्टफोन फर स्न्यापड्रैगन इन्साइडर’ सार्वजनिक गरेको हो।
‘स्मार्टफोन फर स्न्यापड्रैगन इन्साइडर’मा क्वालकम स्न्यापड्रैगन ८८८ एसओसी प्रोसेसर छ। ६.७८ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले भएको यो स्मार्टफोनमा क्रोनिङ गोरिला ग्लास भिक्टस छ। यसले फोनलाई फुट्नबाट बचाउँछ।
यो फोनको पछाडिपट्टि तीनवटा क्यामरा छ। जसमा ६४ मेगापिक्सलको मूख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रा–वाइड लेन्स र ८ मेगापिक्सलको टेलिफोटो सुटर छ। यसको पछाडिपट्टि भने २४ मेगापिक्सलको सेल्फी क्यामरा छ।
‘स्मार्टफोन फर स्न्यापड्रैगन इन्साइडर’मा ५१२ जिबीको आन्तरिक स्टोरेज र ६ जिबी र्याम छ। साथै यसमा चार हजार एमएएचको ब्याट्री पावर छ।
यो स्मार्टफोनको मूल्य भने कम्पनीले करिब एक हजार पाँच सय अमेरिकी डलर तोकेको छ।
अगस्टदेखि बिक्री हुने ‘स्मार्टफोन फर स्न्यापड्रैगन इन्साइडर’ सुरुमा चीन, जर्मनी, जापान, कोरिया, अमेरिका, बेलायत र भारतमा उपलब्ध हुने ग्याजेट ३६०ले जनाएको छ।