एप्पलले आफ्नो आइफोनको क्यामरामा नयाँ प्रविधि ल्याउन लागेको छ।
हाल एप्पल आइफोनको क्यामराबाट खिचिएका वस्तुको तापक्रम मापन गर्न मिल्ने प्रविधिमा काम गरिरहेको एप्पल इन्साइडरले बताएको छ।
यसको लागि कम्पनीले एक पेटेन्ट तयार पारेको छ, जसमा क्यामरा अट्याचमेन्ट र इमेज डाटा प्रोसेसिङ फिचरले कुनैपनि वस्तुको तापक्रम मापन गर्न सक्ने उल्लेख गरिएको छ।
पेटेन्टमा लेखिएको क्यामरा अट्याचमेन्ट ‘ओलोक्लिप लेन्स सिस्टम’ हुनसक्ने अनुमान छ। ‘ओलोक्लिप लेन्स सिस्टम’ एक लेन्स हो। जुन स्मार्टफोनमा जोडेर अझ धेरै क्यामरा फिचर पाउन सकिन्छ।
एप्पलले पनि केही समयअघि आफ्ना आइफोनका लागि ओलोक्लिपको लेन्स ल्याएको थियो। यही लेन्स मार्फत् तापक्रम मापन गर्न मिल्ने प्रविधि ल्याउन खोजेको हो।
यो लेन्स आइफोनसँगै अट्याच भएर नआउने र प्रयोगकर्ताले तापक्रम मापन गर्न चाहेको बेला मात्रै जोड्न सक्ने रिर्पोटले जनाएको छ।
एप्पलले तयार पारेको पेटेन्टमा उक्त लेन्सको प्रयोग गरेर खिचिएको फोटोहरु पनि समावेश थियो। कम्पनीले क्यामरा अट्याचमेन्ट र इमेच डाटा प्रोसेसिङ प्रविधि प्रयोग गरेर ती फोटोमा देखिएका हरेक वस्तुको तापक्रम उल्लेख गरेको थियो।
एप्पल इन्साइडरका अनुसार एप्पलले यस्तो प्रविधि भविष्यमा आउने आइफोनहरुको लागि बनाइरहेको हो।
यसअघि एप्पलले प्रयोगकर्ताको शरीर तापक्रम मापन गर्न सक्ने प्रविधि आफ्ना स्मार्टघडीबाट ल्याइसकेको छ। अब भने भविष्यमा आइफोन र आइप्याडबाट पनि प्रयोगकर्ताको स्वास्थ्य अनुगमन गर्न मिल्न सक्ने अनुमान छ।