एप्पलले केही वर्षयता आफ्नो आइप्याड सिरिजको लाइनअपलाई अपडेट गर्दै आइरहेको छ।
गत दुई वर्षमा कम्पनीले १०.२ इन्चको दुई वटा एयरप्याड प्रो मोडल र आइप्याड एयर ल्याएको थियो। अब भने एप्पलले नयाँ आइप्याड मिनी सार्वजनिक गर्ने तयारी गरिरहेको टाइम्स अफ इन्डियाले बताएको छ।
ब्लुमबर्गका अनुसार एप्पलले नयाँ आइप्याड मिनी यही सेप्टेम्बर वा अक्टोबरतिर सार्वजनिक गर्ने अनुमान छ।
कम्पनीले नयाँ आइप्याड मिनी पुरानो मोडललाई पुन रिडिजाइन गरेर ल्याउने छ। यो रिडिजाइन मोडल आइप्याड मिनीको इतिसाहकै सबैभन्दा ठूलो परिवर्तन हुनसक्ने बताइएको छ। एप्पलले आफ्नो पहिलो आइप्याड मिनी मोडल सन् २०१२ मा सार्वजनिक गरेको थियो।
नयाँ आइप्याड मिनीको डिजाइन सन् २०२० मा सार्वजनिक भएको आइप्याड एयर जस्तै हुने टाइम्स अफ इन्डियाले जनाएको छ।
टिपस्टर जोन प्रोसरका अनुसार आइप्याड मिनीको होम बटनबाट टच आइडी हटाइने छ र टप बटनमा राखिने छ। यसमा ८.४ इन्चको डिस्प्ले आकार हुनेछ र यो एम १ चिपबाट चल्ने छ। यो नयाँ आइप्याडमा यूएसबी टाइप–सी पोर्ट राखिएको छ, जसले गर्दा फाइलहरु ट्रान्सफर गर्न सहज हुनेछ।
यससँगै नयाँ आइप्याड मिनीमा सानो टच पेन्सिल पनि आउन सक्ने वा प्रयोगकर्ताले ‘एप्पल पेन्सल–२’ किनेर चलाउन सक्नेछन्।
टाइम्स अफ इन्डियाका अनुसार यो आइप्याड मिनी नयाँ प्रोसेसरबाट बन्ने छ।