युट्युबले आफ्नो एप ‘युट्युब सर्टस्’ अब विश्वभरका सयवटा देशमा उपलब्ध गराउने भएको छ।
टिकटक जस्तै छोटो भिडियो बनाउन मिल्ने ‘युट्युब सर्टस्’ गत वर्ष भारतमा सीमित प्रयोगकर्ताको लागि सार्वजनिक भएको थियो।
यसको बेटा संस्करण भने सन् २०२१ को सुरुतिर अमेरिकामा उपलब्ध गराइएको थियो। अब भने यो एप अन्य देशहरुका युट्युब प्रयोगकर्ताले पनि चलाउन सक्ने इन्ग्याजेटले बताएको छ।
युट्युबले भर्खरै ‘युट्युब सर्टस्’ सुरु गर्दा प्रयोगकर्ताले त्यसमा आउने भिडियोहरु हेर्न सक्थे, तर आफैं भिडियो बनाउने पहुँच भने थिएन। कम्पनीले यो एप विशेषगरी ‘कन्टेन्ट क्रिएटर्स’का लागि ल्याएको थियो, जसमा भिडियो बनाएबापत पैसा कमाउन पनि सकिन्छ।
टिकटकमा जस्तै ‘युट्युब सर्टस्’मा पनि युट्युब भिडियोको अडियो प्रयोग गरेर रिमिक्स बनाउन मिल्ने फिचर छ। यसमा ६० सेकेन्ड लामो भिडियो बनाउन मिल्छ।
छोटो भिडियो बनाउने एपहरु मध्ये टिकटकले विश्वबजार ओगटेको बेला युट्युबले चुनौती दिँदै ‘युट्युब सर्टस्’ ल्याएको थियो। अहिले भने टिकटकले छोटो भिडियोका साथै तीन मिनेट लामो भिडियो बनाउन मिल्ने फिचर ल्याएर युट्युब जस्तै बन्न खोजिरहेको छ।
इन्ग्याजेटका अनुसार आफ्नो प्रयोगकर्ताको संख्या बढाउन युट्युबले ‘युट्युब सर्टस्’को लागि सय मिलियन अमेरिकी कोष छुट्टाएको छ। यो कोष अन्तर्गत ‘युट्युब सर्टस्’मा भिडियो बनाउनेले सन् २०२२ सम्म इन्गेजमेन्ट र भ्युजको आधारमा मासिक पैसा कमाउन सक्नेछन्।