ट्विटरले आफ्नो फ्लिटस् फिचर बन्द गर्ने भएको छ।
ट्विटरको टाइमलाइनको माथिल्लोपट्टि हुने गोलो बक्सा चिन्ह जसमा प्रयोगकर्ताले एउटा पोस्ट २४ घण्टाका लागि राख्न मिल्छ त्यो फिचरलाई फ्लिटस् भनिन्छ। कम्पनीले हालै यहीँ फिचर आफ्नो प्लेटफर्मबाट हटाउन लागेको द भर्जले बताएको छ।
आठ महिना अघिमात्र ट्विटरले आफ्ना प्रयोगकर्ताहरुका लागि फ्लिटस् फिचर ल्याएको थियो। फेसबुक र इन्स्टाग्राममा २४ घण्टासम्म स्टोरी हाल्न मिल्ने फिचरका नक्कल गर्दै ट्विटरले पनि आफ्नो प्लेटफर्ममा यो फिचर सार्वजनिक गरेको थियो। तर, निकै थोरै प्रयोगकर्ताले यो फिचर प्रयोग गरेको हुनाले कम्पनीले यसलाई बन्द गर्ने निर्णय लिएको हो।
द भर्जका अनुसार ट्विटरले आफ्ना प्रयोगकर्ताले अझ धेरै ट्विट गरुन् भन्ने लक्ष्य राखेर फ्लिटस् को सुविधा ल्याएको थियो। वर्षौदेखि ट्विटरले नयाँ प्रयोगकर्ताहरुलाई नियमित रुपमा पोष्ट गराउन संघर्ष गरिरहेको छ। यो समस्या कम्पनीले फ्लिटस् को मार्फत् समाधान गर्न खोजेको थियो।
ट्विटरमा उपाध्यक्ष इल्या ब्राउनले एक विज्ञप्तीमा भनेका छन्, ‘हामीले आशा गरेका थियौँ कि फ्लिटले धेरै प्रयोगकर्ताहरुलाई ट्विटरमा कुराकानी गर्न सहज पार्नेछ, तर यो फिचर सार्वजनिक भएदेखि अहिलेसम्म धेरै ट्विट गर्ने प्रयोगकर्ताको संख्या बढेको देखेनौँ।’
कम्पनीले आउँदो अगस्ट ३ देखि फ्लिटस् फिचर हटाउने घोषणा गरेको छ। त्यतिन्जेलसम्म भने प्रयोगकर्ताले प्लेटफर्ममा यो फिचर पाउन सक्ने छन्।