फेसबुकको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले २० लाख भारतीय अकाउन्ट ब्लक गरेको छ।
एपको नियम उल्लंघन गरेकोले ह्वाट्सएपले गत मे १५ र जुन १५ मा भारतका २० लाख भन्दा बढी प्रयोगकर्ताका अकाउन्ट बन्द गरेको बिबिसीले बताएको छ।
भारतीय ह्वाट्सएप प्रयोगकर्ताले मेसेज पठाउँदा नियमको सीमा उल्लंघन गरेको कारण अकाउन्ट अवरुद्ध गरिएको हो। यी अकाउन्टहरुबाट धेरै पटक असामान्य मेसेजहरु पठाइएको पाइएको थियो।
भारतलाई ह्वाट्सएपको सबैभन्दा ठूलो बजारको रुपमा मानिन्छ। यहाँ करिब ४० करोड ह्वाट्सएप प्रयोगकर्ता छन्। त्यसैले एपको मुख्य ध्यान भारतका प्रयोगकर्तालाई हानिकारक वा अनावश्यक मेसेजहरु पठाउनबाट रोक्नमा रहेको छ।
बिबिसीका अनुसार ह्वाट्सएपले एडभान्स टेक्नालोजी प्रयोग गरेर प्रत्येक महिना विश्वभरीका ८० लाख अकाउन्टहरुमा प्रतिबन्ध लगाउँदै आएको छ। यसैगरी भारतमा गलत सूचना र समाचार फैलिरहने समस्यालाई रोक्ने विषयमा पनि यसको ध्यान केन्द्रित छ।
भारतमा झुटा र गलत समाचारहरु एक घण्टामा व्हाट्सएपबाट हजारौँ प्रयोगकर्ताहरुलाई फर्वार्ड गरिन्छ। ती मेसेजहरुको गिन्ती गर्नपनि मुश्किल परिरहेको हुन्छ। यसले गर्दा भारतमा केही समययता हिंसा गर्नेको संख्या बढिरहेको छ र कयौँपटक मानिसहरुले आफ्नो ज्यान गुमाइरहेको बताइएको छ।
यही समस्यालाई मध्यनजर गर्दै भारतमा गत मेदेखि नयाँ आइटी नियम लागू गरिएको थियो। यो नियम अन्तर्गत ह्वाट्सएप प्रयोगकर्ताले संवेदनशील मेसेज पठाएको ट्रयाक हुन्छ र ती अकाउन्टहरु एपले ब्लक गर्ने बिबिसीले उल्लेख गरेको छ।