रूपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन प्रणालीबाट राजश्व संकलन सुरू गरेको छ। यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिनेछ। नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मंगलबार डिजिटल प्रविधिको शुभारम्भ गरेका हुन् ।
नगरपालिकाले सम्पति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो। राजस्व तिर्न लाइन लाग्नुपर्ने पद्दतिको अन्त्य गर्न नगरपालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाएको नगर प्रमुख घिमिरेले बताए।
कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्नुको साथै अनलाइन माध्यमबाट कर निर्धारण र संकलन हुँदा दैनिक कति राजस्व संकलन भयो भन्ने समेत थाहा पाउन सकिने घिमिरेले बताए। दैनिक उठ्ने राजश्वको आधारमा योजना निर्माण गर्न सहज हुने नगरपालिकाको विश्वास छ।
अनलाइन प्रणालीबाट कर तिर्न करदाताले ई–पोर्टलमा विवरण भरेर दर्ता गरेपछि ई–सेवा र खल्ती डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोवाइलबाटै कर भुक्तानी गर्न सकिनेछ।
यो प्रणाली सुरु गर्न करदाता पहिलो पटक वडा कार्यालमा गएर विवरणहरु अद्यावधिक गरेपछि त्यसपछिको सेवा भने घरमै बसेर लिन सकिनेछ।
करदाताको विवरण ई–पोर्टलमा दर्ता गरिसकेपछि आन्तरिक संकेत र करदाता कोड प्राप्त हुन्छ। यहीँ कोडका आधारमा पछिल्लो पटक मोवाइलबाटै कर तथा दस्तुर तिर्न मिल्छ। यस प्रणालीमा रहेका २ वटा पोर्टलमध्ये एउटा पब्लिक र अर्को कोर पोर्टल रहेको छ।
पब्लिक पोर्टलमा करदाताले आफू सम्बन्धित घर–जग्गा, सम्पत्ति, व्यवसाय जस्ता व्यक्तिगत विवरण राखिएका छन् भने यही पोर्टलबाट नगरले उठाउने सम्पूर्ण कर र दस्तुरको दर थाहा पाउन सकिने छ।
सहभागितामुलक र पारदर्शी राजस्व प्रणाली विकास गर्दै जान सुरु गरिएको प्रणालीले स्मार्ट नगरको एउटा सूचक पूरा गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको भनाइ छ। उनले नगरपालिका करदाताप्रति उत्तरदायी छ भन्ने कुरा अनुभूति गराउने गरी अनलाइन राजस्व सुरु गरिएको र यसले सुशासनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
सूचना प्रविधि अधिकृत सुदीप ढकालले पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्नका लागि रहेको र यहि पोर्टलबाट नगरलाई कति रकम तिर्नु पर्ने हो ? करदातालाई थाहा हुने जानकारी दिए।
करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा स्वचालित प्रणालीबाट तयार भएको कर विवरणलाई रुजु र स्वीकृत गर्नेछन्। त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय प्रणालीबाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धि सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ।
यसैबीच तिलोत्तमा नगरपालिकाले मंगलबार नैं सेवाप्रवाह सम्बन्धी विभिन्न सफ्टवेयर तथा एप्लिकेशनहरु सार्वजनिक गरेको छ। नगरपालिकाले अनलाइन राजस्वसहित ई–पेमेन्ट, अनलाइन सिफारिस, कर्मचारी व्यवस्थापन अनुगमन तथा मूल्यांकन सिष्टम, टुरिजम एप, सम्पूर्ण सामुदायिक विद्यालयहरुमा मोबाइल एप्लिकेशन, हेल्लो मेयर सिष्टम, डकुमेन्ट व्यवस्थापन सिष्टम, नगरपालिका मोबाइल एप, सेन्ट्रलाइज्ड सिष्टम लन्चिङ गरेको हो।