चिनियाँ स्मार्टफोन कम्पनी साओमीले दुई सय वाट चार्जिङ टेक्नोलोजी भएको नयाँ स्मार्टफोन ल्याउने भएको छ।
जिएसएम एरेनाका अनुसार साओमीले नयाँ हाइपरचार्ज स्मार्टफोनको उत्पादन अर्को वर्षदेखि सुरु गर्नेछ। कम्पनीले यस्तो टेक्नोलोजी भएको स्मार्टफोन ल्याउने योजना इन्टरनेटका केही ब्लगहरुले खुलासा गरेका हुन्।
हाइपरचार्ज नामले नै चिनिने यो स्मार्टफोनमा हुने दुई सय वाटको चार्जिङ टेक्नोलोजीबाट फोन ८ मिनेटमा नै पुरा चार्ज हुने कम्पनीले ट्विटरमा उल्लेख गरेको छ। यदि प्रयोगकर्ताले वायरलेस चार्ज गर्न चाहान्छन् भने यो फोन १५ मिनेटमा पुरा चार्ज हुनेछ।
साओमीले दुई सय वाट चार्जिङ टेक्नोलोजी यसअघि आफ्नो ‘साओमी एमआई ११ प्रो’ स्मार्टफोनमा प्रदर्शन गरेको थियो। यसले चार हजार एमएएचको ब्याट्री पावर भएको सो फोनलाई १५ मिनेटमा नै पुरा चार्ज गरेको थियो, तर यस टेक्नोलोजीले फोनको चार्ज २० प्रतिशतले घटाउन थालेको थियो।
रिर्पोटका अनुसार यो चार्जिङ टेक्नोलोजी ‘साओमी एमआई १२ अल्ट्रा’ जस्ता ठूला मोडलका स्मार्टफोनमा उपयुक्त हुन्छ।
सुरुका दिनमा साओमीले यो टेक्नोलोजी आफ्ना उत्पादन भइसकेका स्मार्टफोनहरुमा परीक्षण मात्र गरिरहेको थियो। कम्पनीले यसैलाई प्राथमिकतामा राखेर नयाँ स्मार्टफोन बनाउला भनेर कसैले सोचेका थिएनन्।
अब भने कम्पनीले आधिकारिक रुपमा हाइपरचार्ज स्मार्टफोन ल्याउने घोषणा गरेपछि प्रयोगकर्तामाझ उत्सुकता बढेको छ।