चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसको नयाँ स्मार्टफोन ‘वानप्लस नोर्ड–२ ५–जी’ नेपाली बजारमा सार्वजनिक हुने भएको छ।
आफ्नो वानप्लस नोर्ड लाइनअपअन्तर्गत कम्पनीले मंगलबार ‘वानप्लस नोर्ड–२ ५–जी’ सार्वजनिक गर्ने घोषणा गरेको हो।
६.४३ इन्चको फ्ल्यूड एमोलेड डिस्प्ले भएको ‘वानप्लस नोर्ड–२ ५–जी’ मा तीनवटा क्यामरा छ। जसमा ५० मेगापिक्सलको मुख्य क्यामरा र ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा छ। यसमा भएको नाइटस्केप अल्ट्रा फिचरले अध्यारो ठाउँमा पनि राम्रो र उज्यालो फोटो खिच्न सकिने कम्पनीले बताएको छ।
यो फोनमा ३२ मेगापिक्सलको सेल्फी क्यामरा छ। यस सेल्फी क्यामराले पाँचजनाको अनुहार एकैपटक डिटेक्ट गर्न सक्छ।
मिडियाटेक डाइमेनसिटी १२०० एआई प्रोसेसरले बनेको ‘वानप्लस नोर्ड–२ ५–जी’ मा चार हजार पाँच सय एमएएचको डुअल सेल ब्याट्री छ। यसबाट फोन ३५ मिनेटमा नै पूरा चार्ज हुने उल्लेख गरिएको छ।
‘वानप्लस नोर्ड–२ ५–जी’ ८ जिबी र्याममा १२८ जिबीको आन्तरिक स्टोरेज र १२ जिबी र्याममा २५६ जिबीको दुइवटा विकल्पका साथ आउने छ।
नेपाली बजारमा ८ जिबी र्यामको ‘वानप्लस नोर्ड–२ ५–जी’को मूल्य ५९ हजार ९ सय ९९ छ। यसैगरी १२ जिबी र्याम मोडलको मूल्य भने ६९ हजार ९ सय ९९ छ।
यो फोन ब्लु हेज र ग्रे सियरा रङमा उपलब्ध छ। यदि ग्राहकले जुलाई ३१ भित्रमा नयाँ ‘वानप्लस नोर्ड–२ ५–जी’ किने भने ‘टाइप–सी’ इयरफोन निशुल्क दिने कम्पनीले जनाएको छ।