चिनियाँ स्मार्टफोन कम्पनी हुवाईले आफ्नो नयाँ स्मार्टफोन ‘पी–५०’आउँदो बिहिबार सार्वजनिक गर्ने भएको छ।
जिएसएम एरेनाका अनुसार चीनमा उत्पादन हुवाईको नयाँ ‘पी–५०’ स्मार्टफोन विश्वभर सार्वजनिक हुनेछ। कम्पनीले हालै ‘पी–५०’ सिरिजको टिजर समेत पोस्ट गरेको थियो, जसमा यो सिरिज अन्तर्गत कस्ता स्मार्टफोन हुनेछ भनेर खुलाइएको छैन।
‘पी–५०’ स्मार्टफोनको पछाडिपट्टि चारवटा लेइका क्यामरा हुने कम्पनीको टिजरमा देखिएको छ। लेइका क्यामराले फोकस नगरिएको फोटोपनि राम्रो देखाउँछ र छायाँ भएको ठाउँमा उच्च गुणस्तरको कन्ट्रास्ट फोटो खिच्छ। यसमा कस्ता र कति मेगापिक्सलको क्यामरा हुनेछ भन्ने जानकारी भने आएको छैन।
६.६० इन्च ओएलडी डिस्प्ले हुने यो मोडल एन्ड्रोइड ११ संस्करणमा चल्नेछ। हुवाईमाथि अमेरिकाले लगाएको प्रतिबन्धका कारण यसका नयाँ स्मार्टफोनमा गुगल एप, जिमेल, प्ले स्टोर, गुगल म्याप जस्ता कुनैपनि गुगल प्ले सर्भिसहरु नुहुने जिएसएम एरेनाले जनाएको छ।
‘पी–५०’ स्मार्टफोन ८ जिबी र्यामका साथ १२८ जिबी वा २५६ जिबी आन्तरिक स्टोरेजको विकल्पमा उपलब्ध हुनेछ।
ओक्टा–कोर हाइसिलिकन किरिन ९००० प्रोसेसरले बनेको यो स्मार्टफोनमा अन्डर–डिस्प्ले फिंगरप्रिन्ट फिचरपनि रहेको छ।
यो नयाँ स्मार्टफोन सेतो रङमा उपलब्ध हुने अनुमान छ। कम्पनीबाट यसबारे धेरै फिचरहरु लिक नभएको हुँदा ‘पी–५०’ स्मार्टफोनको जानकारी पाउन जुलाई २९ गतेसम्म पर्खनु पर्ने जिएसएम एरेनाले लेखेको छ।