विश्वबजारमा एप्पलले फेरि अर्को रेकर्ड तोडेको छ। महामारीको समयमा पनि पछिल्ला दुई वर्ष आफ्नो नयाँ उत्पादन बढाउँदै लगेको एप्पलले स्मार्टफोनको बजारमा उच्च स्थान हात पारेको छ।
हालै कम्पनीले आफ्नो आर्थिक वर्षको तेस्रो त्रैमासिकको आर्थिक नतिजा सार्वजनिक गरेको थियो र यो डाटाअनुसार एप्पलले ठूलो रकम हात पारेको देखिएको थियो। एप्पलको आइफोन, म्याक, आइप्याड, स्मार्टघडी र अन्य उपकरणको उत्पादन हरेक वर्ष बढिरहेको र यसपटक ८१ अर्ब बढी कमाइ गरेको इन्ग्याजेटले बताएको छ।
योभन्दा अघि एप्पलले कहिल्यैपनि एक वर्षको त्रैमासिकमा यति कमाई गरेको थिएन। गत वर्षको तेस्रो त्रैमासिकमा कम्पनीले ५९ अर्बभन्दा बढी कमाइ गरेको थियो। अहिलेको तुलानामा कम्पनीको कमाई एक वर्षमा ३६.३ प्रतिशतले वृद्धि भएको देखिन्छ।
केही विश्लेषकले एप्पलले यो वर्ष ७३ अर्बभन्दा बढी गर्ने अनुमान गरेका थिए, तर कम्पनीले भने यो अनुमानलाई पनि पछि पारेको छ।
एप्पलको कमाइ पछाडिको मुख्य कारण आइफोनको बढ्दो बिक्री भएको इन्ग्याजेटले जनाएको छ। गत वर्षको तुलानामा आइफोनको बिक्री ५० प्रतिशतले बढेको छ। जसमा आइफोनको बिक्री ३९.६ अर्ब भएको छ। यस कारण ‘आइफोन–१२’ सिरिज एप्पलको ठूलो सफलताको रुपमा लिइएको छ।
यसैगरी सन् २०२० को तेस्रो त्रैमासिकको तुलानामा यस वर्ष आइप्याडको ब्रिक्री १२ प्रतिशतले र म्याकको १६ प्रतिशतले बढेको इन्ग्याजेटले उल्लेख गरेको छ।
योसँगै यस वर्ष एप्पलले आफ्ना नयाँ उत्पादन एयरट्याग, दोस्रो जेनेरेसनको एप्प्पल टिभी ४के, २४ इन्चको म्याक र ११ इन्चको आइप्याड प्रोबाट फाइदा कमाएको छ।