सामसङले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एफ–२२’ को सार्वजनिक गरेको छ। कम्पनीले मंगलबारदेखि नेपाली बजारमा यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।
‘ह्यासट्याग फुलअनफुल’ नाराका साथ ल्याइएको ‘ग्यालेक्सी एफ–२२’मा थुप्रै नयाँ फिचरहरु छन्, जुन अहिलेका टेक युवापुस्ताका लागि निकै उपयूक्त हुने सामसङले जनाएको छ।
६.४ इन्चको एचडी प्लस सुपरएमोलेड डिस्प्ले भएको यो नयाँ स्मार्टफोनमा ९० हर्जको रिफ्रेस रेट छ। यो फोनले प्रयोगकर्तालाई स्मुथ स्क्रोलिङ अुनभव दिनेछ। यसमा भएको हाई ब्राइटनेस मोड फिचरले चर्को घाममा पनि स्क्रिन सजिलै हेर्न मिल्छ। साथै डोल्बी एटोम फिचरले फोनमा उत्कृष्ट अडियो र सिनेम्याटिक भियुङ अनुभव दिने कम्पनीको दाबी छ।
‘ग्यालेक्सी एफ–२२’मा ६ हजार एमएएचको ब्याट्री पावर र २५ वाटको चार्जिङ क्षमता छ। यो ब्याट्री पावरबाट प्रयोगकर्ताले १३० घण्टासम्म गीत सुन्न, ४० घण्टासम्म फोनमा बोल्न, २५ घण्टासम्म भिडियो हेर्न सक्छन्।
यो फोनमा चारवटा क्यामरा छ। जसमा मूख्य क्यामरा ४८ मेगापिक्सलको छ भने ८ मेगापिक्सलको अल्ट्रा–वाइड लेन्स, २ मेगापिक्सलको म्याक्रो लेन्स र २ मेगापिक्सलको डेप्थ क्यामरा छ। यसको अगाडपट्टि भने १३ मेगापिक्सलको सेल्फी क्यामरा छ।
क्यामराको अनुभव अझ राम्रो बनाउन सामसङले ‘ग्यालेक्सी एफ–२२’मा हाइपर ल्याप्स, स्लो मोसन, फुड मोड, प्रो मोड र एआर जोन जस्ता फिचरपनि समावेश गरेको छ।
मिडियाटेक हेलियो जी–८० प्रोसेसरले बनेको यो नयाँ स्मार्टफोन चार जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज र ६ जिबी र्याममा १२८ आन्तरिक स्टोरेज विकल्पको साथ उपलब्ध छ।
नेपाली बजारमा चार जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज भएको ‘ग्यालेक्सी एफ–२२’को मूल्य बीस हजार चार सय ९९ छ। यसैगरी ६ जिबी र्याममा १२८ आन्तरिक स्टोरेज मोडलको मूल्य २३ हजार नौ सय ९९ तोकिएको छ।
‘ग्यालेक्सी एफ–२२’ डेनिम ब्लु, डेनिम ब्ल्याक र डेनिम ह्वाइट रङमा उपलब्ध छ।