बिहिबार हुवाइले आफ्नो नयाँ स्मार्टफोन ‘पि–५०’ सिरिज सार्वजनिक गरेको छ। यो सिरिजअन्तर्गत कम्पनीले ‘पि–५०’ र ‘पि–५० प्रो’ मोडल ल्याएको छ।
हुवाइले यसपटक प्रो प्लस मोडल ल्याएको छैन, तर यी दुई नयाँ स्मार्टफोनमा भने कम्पनीले गुणस्तरीय क्यामरा फिचर र अन्य सुविधाहरु थपेको जिएसएम एरेनाले बताएको छ।
६.५ इन्च फुल एचडीप्लस ओएलइडी फ्ल्याट डिस्प्ले भएको नयाँ ‘पि–५०’ मोडलमा तीनवटा क्यामरा छ। जसमा ५० मेगापिक्सलको मूख्य क्यामरा, १२ मेगापिक्सलको टेलिफोटो लेन्स र १३ मेगापिक्सलको अल्ट्रा–वाइड लेन्स छ। यसमा भएको अप्टिकल इमेज स्टेबिलाइजेसन फिचरले क्यामराको हलचल स्थिर पारेर फोटो राम्रो खिच्छ।
६.६ इन्च फुल एचडीप्लस ओएलइडी कर्भड डिस्प्ले भएको ‘पि–५० प्रो’ मोडलमा भने चारवटा क्यामरा छ। जसमा ५० मेगापिक्सलको मूख्य क्यामरा, ६४ मेगापिक्सलको टेलिफोटो क्यामरा, १३ मेगापिक्सलको अल्ट्रा–वाइड एंगल क्यामरा र ४० मेगापिक्सलको मोनोक्रोम लेन्स छ। यसमा भएको लेजर अटोफोकस फिचरले फोटोलाई राम्रो र स्पष्ट पार्छ।
यी दुवै स्मार्टफोनमा १३ मेगापिक्सलको सेल्फी क्यामरा छ।
‘पि–५०’ स्मार्टफोन स्न्यापड्रैगन ८८८ एसओसी प्रोसेसरले बनेको छ। यसमा ८ जिबी र्याम र २५६ जिबीको आन्तरिक स्टोरेज छ।
यसैगरी ‘पि–५० प्रो’ दुईवटा प्रोसेसरले बनेको छ– हाइसिलिकन किरिन ९००० र क्वालकम स्न्यापड्रैगन ८८८, यसमा १५ जिबी र्याम र ५१२ जिबी आन्तरिक स्टोरेज छ।
‘पि–५० प्रो’मा चार हजार तीन सय ६० एमएएचको ब्याट्री पावर र ६६ वाटको सुपर फास्ट चार्ज र ५० वाटको वायरलेस सुपर फास्ट चार्ज छ। ‘पि–५०’मा भने चार हजार एक सय एमएएचको ब्याट्री पावर र ६६ वाटको सुपर फास्ट चार्ज छ।
जिएसएम एरेनाका अनुसार ‘पि–५०’ र ‘पि–५० प्रो’ स्मार्टफोन पानी र धुलो प्रतिरोधी पनि छ।
‘पि–५०’ स्मार्टफोनको मूल्य सात सय अमेरिकी डलर र ‘पि–५० प्रो’ स्मार्टफोनको मूल्य एक हजार दुई सय ४० अमेरिकी डलर तोकिएको छ।