एप्पलको नयाँ म्याकबुक मोडलको स्क्रिन सजिलै फुट्ने गुनासो आएको छ।
एप्पल इन्साइडरका अनुसार प्रयोगकर्ताले नयाँ एम–१ म्याकबुक एयर र एम–१ म्याकबुक प्रो मोडलको एलसिडी स्क्रिन केही नगर्दापनि चर्किने र फुट्ने समस्या देखिएको गुनासो गरेका छन्।
प्रयोगकर्ताहरुले यो समस्या एप्पल सर्पोट कम्यूनिटीमा सम्बोधन गरेका छन्, जहाँ धेरैले एम–१ म्याकबुक एयर र १३ इन्चको एम–१ म्याकबुक प्रोको डिस्प्ले स्क्रिन कमजोर रहेको बताएका छन्।
एम–१ म्याकबुक एयर र एम–१ म्याकबुक प्रो गत वर्ष नोभेम्बरमा सार्वजनिक भएको थियो। यी दुई ल्यापटपमा १३.३ इन्चको डिस्प्ले छ। नयाँ फिचरका साथ आएको यी ल्यापटपमा थुप्रै विशेषता छ, तर त्योसँगै यसको मूल्यपनि उत्तिकै महँगो छ।
अन्य कम्पनीका ल्यापटपको तुलानामा नयाँ म्याकबुकका मोडलमा प्रयोगकर्ता त्यत्ति सन्तुष्ट थिएनन्। यसको कमजोर स्क्रिनको समस्याले म्याकबुकको फिचर माथि प्रश्न उठेको छ।
एक प्रयोगकर्ताका अनुसार उनको म्याकबुक केही नगर्दापनि स्क्रिन चर्किएको छ। उनी भन्छन्, ‘मैले आफ्नो ल्यापटप डेस्कमाथि राखेर सुत्न गएको थिए। बिहान हेर्दा स्क्रिनमा थोरै चर्किएको थियो र यसको पुरै स्क्रिनको कामलाई नै हानी गरेको थियो।’
म्याकबुकमा देखिएको क्षति डिस्प्ले र टप केस एकआपससँग ठोक्किएर भएको हुनसक्ने एप्पल मर्मत सुविधाका विश्लेषकहरुले बताएका छन्। यस्ता क्षति कम्पनीको वारेन्टी कार्डमा उल्लेख नगरिएको हुनाले प्रयोगकर्ताले केही क्षतिपूर्ति पाएका छैनन्। कयौँ प्रयोगकर्ताले आफ्नो चर्किएको स्क्रिन फेर्न करिब पाँच सय डलर समेत खर्च गर्नु परेको एप्पल इन्साइडरले जनाएको छ।
म्याकबुकका स्क्रिनहरु यति सजिलै किन चर्किएको भनेर हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। एप्पलले यो समस्यालाई लिएर प्रतिकृया दिएको छैन र यस्तो समस्या भएका म्याकबुकका लागि मर्मत गर्ने सुविधा पनि ल्याएको छैन।