चिनियाँ स्मार्टफोन कम्पनी साओमीले पानी नपस्ने पहिलो रेड्मी नोट स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।
साओमीले केही समयअघि आफ्नो रेड्मी नोट–१० सिरिजअन्तर्गत ‘रेड्मी नोट–१०’, ‘नोट–१० एस’, ‘नोट–१० ५–जी’ र ‘नोट–१० प्रो’ मोडलका स्मार्टफोन ल्याएको थियो। अब भने कम्पनीले जापानको ‘रेड्मी नोट–१०’ भेरियन्टमा नयाँ स्मार्टफोन थप्न लागेको हो। सो स्मार्टफोनको नाम ‘रेड्मी नोट–१० ५–जी’ नै हुने एन्ड्रोइड अथोरिटीले जनाएको छ।
नयाँ ‘रेड्मी नोट–१० ५–जी’ थुप्रै परिवर्तनका साथ आउनेछ। यसमा स्न्यापड्रैगन ४८० ५–जी चिप्सेटको प्रोसेसर हुनेछ। यसअघि पुरानो ५–जी मोडलमा डाइमेनसिटी ७०० ५–जी एसओसी प्रोसेसर थियो।
जापान भेरियन्टको नयाँ ‘रेड्मी नोट–१० ५–जी’मा पानी र धुलो प्रतिरोधी स्मार्टफोन हो। यो स्मार्टफोन आइपी–६८ डिजाइनले बनेको छ। जसले फोनलाई पानीबाट पूर्ण बचाउनेछ। रेड्मी नोटका पुराना मोडलहरु केबल स्प्ल्यास प्रतिरोधी स्मार्टफोन थिए। नयाँ ‘रेड्मी नोट–१० ५–जी’ सार्वजनिक भएसँगै यो पानी नपस्ने पहिलो रेड्मी नोट स्मार्टफोन बनेको छ।
६.५ इन्च एलसिडी प्यानल डिस्प्ले भएको यो स्मार्टफोनको पछाडिपट्टि तीनवटा क्यामरा छ, जसमा ४८ मेगापिक्सलको मुख्य क्यामरा रहेको छ। यसको अगाडि भने ८ मेगापिक्सलको सेल्फी क्यामेरा छ।
यसैगरी ‘रेड्मी नोट–१० ५–जी’मा चार हजार आठ सय एमएएचको ब्याट्री पावर छ। यो स्मार्टफोन चार जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेजका साथ आउने अपेक्षा गरिएको छ।
साओमीले हालसम्म ‘रेड्मी नोट–१० ५–जी’को सार्वजनिक मिति घोषणा गरेको छैन। यसको मूल्य पनि सार्वजनिक नभएको हुनाले प्रयोगकर्ताले पुरानो ‘नोट–१० ५–जी’को मूल्य एक सय ९९ अमेरिकी डलरको हाराहारीमा हुनसक्ने अनुमान लगाएका छन्।