सामसङले आफ्ना नयाँ उपकरण यही अगस्ट ११ मा सार्वजनिक गर्ने घोषणा गरेको छ।
यो वर्ष सामसङले धेरै कार्यक्रमहरु आयोजना गर्यो, तर ६ दिनपछि हुने ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’ केही खास हुने अनुमान गरिएको छ। कम्पनीले हरेक वर्ष अगस्ट महिनातिर नोट फोनहरु ल्याउने गर्थ्यो, अब भने कम्पनीले नोट फोन नभइ अन्य नयाँ उपकरण सार्वजनिक गर्ने इन्ग्याजेटले बताएको छ।
गत महिना कम्पनीले रिलिज गरेको ब्लग पोष्टमा यसका अध्यक्ष टिएम रोहले अगस्टमा फोल्डएबल फोनहरु आउने जानकारी दिएका थिए।
उनका अनुसार सामसङले तेस्रो जेनेरेसनको ग्यालेक्सी जेड सिरिजअन्तर्गत नयाँ ‘जेड फिल्प–३’ र ‘जेड फोल्ड–३’ फोल्डएबल स्मार्टफोन सार्वजनिक गर्नेछ।
‘जेड फिल्प–३’ लाम्चो आकारको हुनेछ जुन बीचबाट ठाडो गरी फोल्ड गर्न मिल्नेछ। यसको बाहिरी स्क्रिन १.९ इन्चको र भित्रपट्टि ६.७ इन्चको इन्टरनल फेल्कजिबल डिस्प्ले हुनेछ।
यो फोनमा १२० हर्जको रिफ्रेस रेट हुनेछ। यसमा १२ मेगापिक्सलको डुअल क्यामरा र १० मेगापिक्सलको सेल्फी सुटर हुनेछ।
त्यस्तै, ‘जेड फोल्ड–३’ भने बीचबाट तेर्सो गरी फोल्ड गर्न मिल्छ। यसको बाहिरी मोडल ६.२ इन्चको र भित्री भाग ७.६ इन्चको हुनेछ। यसमा १२ मेगापिक्सलको मुख्य क्यामरासहित तीनवटा क्यामरा र दईवटा सेल्फी क्यामरा हुनसक्ने अनुमान छ।
इन्ग्याजेटका अनुसार ‘जेड फिल्प–३’ र ‘जेड फोल्ड–३’ पानी प्रतिरोधी स्मार्टफोन हो।
यी दुई नयाँ फोल्डएबल स्मार्टफोनसँगै सामसङले नयाँ हेडफोन र स्मार्टघडी सार्वजनिक गर्न सक्ने अनुमान छ। कम्पनीले गुगलको सहकार्यमा ‘ग्यालेक्सी वाच–४’ ल्याउने छ, जुन याक्टिभ र क्लासिक इडिसनमा आउनेछ।
यसैगरी कम्पनीले नयाँ हेडफोनमा ‘ग्यालेक्सी बड्स–२’ सार्वजनिक गर्नेछ। यो इयरबड नयाँ डिजाइन र थुप्रै रङका साथ उपलब्ध हुनेछ।