केही वर्षदेखि स्मार्टफोन कम्पनी सामसङ र साओमीको बजारी प्रतिस्पर्धा बढेको छ।
तीन वर्षअघि साओमीले सामसङलाई पछि पारेर भारतको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको थियो। हालै भने चिनियाँ स्मार्टफोन कम्पनी साओमीले विश्वव्यापी रूपमा सामसङलाई उछिनेर पहिलोपटक संसारकै ठूलो स्मार्टफोन निर्माता बनेको छ।
काउन्टरपोइन्ट रिसर्चको पछिल्लो तथ्यांक अनुसार सन् २०२१, जुनमा संसारकै अग्रणी स्मार्टफोनको सूचीमा सामसङ दोस्रो स्थानमा झरेको छ।
सामसङको सेयर १५.७ प्रतिशतले घटेको छ। उता साओमीको सेयर १७.१ प्रतिशत बढ्दै गत जुनमा पहिलो स्थानमा उक्लिएको हो।
यस्तै एप्पलको सेयर पनि घटेको छ। कम्पनीले विश्वव्यापी स्मार्टफोन बजारको १४.३ प्रतिशत सेयर मात्र प्राप्त गरेको साममोबाइलले जनाएको छ।
साओमीको उत्पादन बिक्री गत मे महिना यतादेखि महिनैपिछे २६ प्रतिशतले बढेको छ। साओमी सन् २०११ मा सञ्चालन भएको थियो। वर्षौंदेखि साओमीका सिइओले धेरैपटक सामसङलाई पछि पारेर विश्वको ठूलो स्मार्टफोन ब्रान्ड बन्ने सपना देखेको कुरा उल्लेख गर्दै आएका थिए। अहिले कम्पनीले यो सपना पूरा गरेको बताएको छ।
काउन्टरपोइन्ट रिसर्चका अनुसन्धान निर्देशक तरुण पाठकका अनुसार अमेरिकाले चिनियाँ स्मार्टफोन कम्पनी हुवाइमा प्रतिबन्ध लगाएपछि विश्वबजारमा यसको ठूलो गिरावट भयो। यसैसँगै साओमीले लगातार विश्वबजारमा उक्लिन प्रयास गरिरहेको थियो।
केही वर्षअघि एप्पलको वर्षौंको वर्चस्व तोड्दै सामसुङ लगातार एक नम्बरमा परिरहेको थियो। तर हाल भियतनाममा कोभिडको नयाँ लहरका कारण सामसङको स्मार्टफोन उत्पादन प्रभावित भएको बताइएको छ। अर्को त्रैमासिकमा आपूर्ति समस्याहरू समाधान गरेर सामसङले बजारमा फेरि आफ्नो स्थान लिने अपेक्षा गरिएको साममोबाइलले बताएको छ।