नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप–सियुजी सेवामा टेलिकमले आकर्षक अफर सार्वजनिक गरेको छ।
कुनै संस्था वा कार्यालयमा कार्यरत कम्तिमा दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सियुजी समूहमा आबद्ध गराउन सकिने कम्पनीले जानकारी दिएको छ। समुहमा आबद्ध सदस्यहरुबीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिने सुविधा कम्पनीले दिएको छ।
कम्पनीका अनुसार सियुजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्क भित्रका अन्य नम्बरमा पनि कुराकानी गर्न सकिन्छ।
कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरुको आवश्यकतालाई ध्यानमा राख्दै टेलिकमले २ सय, ५ सय, १ हजार र १ हजार ५ सय रुपैयाँका सियुजी प्याकेजहरु उपलब्ध गराएको छ।
यो सेवामा प्रिपेड मोबाइलका ग्राहकले २ सय रुपैयाँको प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक सय मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र दस मिनेट अफ नेट (अन्य नेटवर्कमासमेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा पाउनेछन्। साथै ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जिबी डाटा सुविधा पाउनेछन्।
त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले ५ सय रुपैयाँको प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक ५ सय मिनेट अन नेट र पचास मिनेट अफ नेट भ्वाइस सुविधा तथा १ सय वटा अन नेट एसएमएस र तीस वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जिबी डाटा सुविधा पाउनेछन्।
यी दुई बाहेक पोस्टपेड मोबाइलका ग्राहकले १ हजार र १५ सय रुपैयाँका अन्य प्याकेजसमेत प्रयोग गर्न सक्छन्।
१ हजार रुपैयाँको प्याकेज अन्तर्गत सियुजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा १ हजार मिनेट कल गर्न सकिन्छ।
त्यस्तै अन्य नेटवर्कमा १ सय मिनेट कल गर्न सकिन्छ। साथै यस प्याकेजमा १० जिबी डाटा चलाउन र २ सय वटा एसएमएस पठाउन सकिन्छ।
यसैगरी १५ सय रुपैयाँको प्याकेज अन्तर्गत सियुजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५ सय मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ।
यस प्याकेजमा अन्य नेटवर्कमा २ सय मिनेट कलका अतिरिक्त २० जिबी डाटा चलाउन र ४ सय वटा एसएमएस पठाउन पनि सकिन्छ।
कुनै संस्था वा कार्यालयले ग्रुपमा सहभागी गराउनु पर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा लेखी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ।
कम्तिमा १० जना प्रिपेड वा पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सियुजी प्याकेज उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।