स्मार्टफोन कम्पनी वानप्लसले गत जुनमा आफ्नो नयाँ स्मार्टफोन ‘नोर्ड एन–२०० ५–जी’ सार्वजनिक गरेको थियो। कम्पनीले आफ्नो प्रिमियम सेगमेन्टका स्मार्टफोनबाट उपभोक्ताको ध्यान खिच्न सन् २०२० देखि नोर्ड सिरिजका स्मार्टफोन ल्याएको हो।
वानप्लसको नयाँ ‘नोर्ड एन–२०० ५–जी’ हाल अमेरिका र क्यानडाको बजारमा मात्र उपलब्ध छ। यो स्मार्टफोनको फिचरका चर्चा अहिले निकै बढिरहेको बेला एक टेक युट्युबरले यसको स्थायित्व परीक्षण गरेका छन्।
ग्याजेट ३६०का अनुसार युट्युबर जेरी रिग एभ्रिथिङले ‘नोर्ड एन–२०० ५–जी’ स्मार्टफोन कति बलियो र प्रतिरोधी छ हेर्न यसमा केही परीक्षण गरेका हुन्।
ती युट्युबरले सुरुमा ‘नोर्ड एन–२०० ५–जी’ स्मार्टफोनमा स्क्रयाच परीक्षण गरेका थिए। उनले फोन स्क्रयाच प्रतिरोधी छ वा छैन जाँच्न धारिलो चक्कु लिएर फोनको अगाडि र पछाडि कोतारेका थिए।
यस स्मार्टफोनको डिस्प्ले सिसाले बनेको हुँदा त्यसमा कुनै असर परेको देखिँदैन, तर यसको फ्रेम, बटन र पछाडिको भाग प्लास्टिकले बनेको हुँदा सजिलै कोतारिएको भिडियो देखाइएको थियो।
वानप्लसको ‘नोर्ड एन–२०० ५–जी’ आगो परीक्षणमा सफल भएको थियो। भिडियोमा युट्युबरले फोनको डिस्प्लेको एउटा सानो भाग आगो नजिक लगेका थिए।
आगोको कारण त्यो भाग केहीबेर कालो भएको थियो, तर केही सेकेन्डपछि राम्रै अवस्थामा परिवर्तन भएको थियो। यो परीक्षणबाट ‘नोर्ड एन–२०० ५–जी’ आगो प्रतिरोधी पनि रहेको प्रमाणित हुने ग्याजेट ३६०ले बताएको छ।
यसैगरी यो फोन बेन्ड टेस्टमा पनि सफल भएको थियो। फोनलाई पूरा बेन्ड गर्दा समेत स्क्रिन र फ्रेममा कुनै असर परेको थिएन।
बजारमा ‘नोर्ड एन–२०० ५–जी’को मूल्य दुई सय ३९ अमेरिकी डलर छ। यो फोन क्वालकम स्न्यापड्रागन ४८० एसओसी प्रोसेसरले बनेको हो। तीनवटा क्यामरा भएको यस फोनमा पाँच हजार एमएएच ब्याट्री पावर छ।