सामसङले आफ्नो फोल्ड सिरिज अन्तर्गत नयाँ फोल्डएबल फोन ‘जेड फोल्ड–३’ सार्वजनिक गरेको छ।
‘जेड फोल्ड–२’को सफलतापछि बुधबार भएको अनप्याक्ड इभेन्टमा सामसङले नयाँ ‘जेड फोल्ड–३’ ल्याएको हो।
‘जेड फोल्ड–३’को बाहिरी डिस्प्ले ६.२ इन्चको एमोलेड कभर स्क्रिनका साथ आएको छ। यसलाई फोल्ड गर्दा ७.६ इन्चको इन्फिनिटी फ्लेक्स डिस्प्ले पाउन सकिन्छ। यसमा १२० हर्जको रिफ्रेसरेट छ, जसले गर्दा स्क्रिन अझै स्मूथ र फास्ट हुनेछ।
सामसङले यसपटक ‘जेड फोल्ड–३’मा सेल्फी क्यामरा डिस्प्ले भित्र राखेको छ। प्रयोगकर्ताले क्यामरा एप खोल्दा मात्र सो क्यामरा देख्न सक्छन्। अरुबेला नांगो आँखाले क्यामरा देख्न सक्दैनन्। यसले फोनको डिस्प्ले अझ ठूलो र सफा बनाएको छ। यो सेल्फी क्यामरा ४ मेगापिक्सलको छ।
यसको पछाडीपट्टि तीनवटा क्यामरा छ, जसमा १२ मेगापिक्सलको वाइड, अल्ट्रावाइड र टेलिफोटो क्यामरा छ।
‘जेड फोल्ड–३’मा प्रयोगकर्ताले मूख्यस्क्रिनमा दुइ तीनवटासम्म विन्डोज एकैपटक खोलेर सबै काम गर्न सक्ने कम्पनीले बताएको छ। यही यो स्मार्टफोनको खास विशेषता रहेको छ।
२७१ ग्राम तौल भएको यो फोल्डएबल स्मार्टफोन गोरिला ग्लास भिक्टस र आरमर आलुमिनियमले बनेको छ, जसले गर्दा फोन बलियो र भरपर्दो भएको छ।
यसैगरी सामसङले पहिलोपटक फोल्डएबल फोनअन्तर्गत ‘जेड फोल्ड–३’मा एस पेन प्रयोग गर्न मिल्ने बनाएको छ।
क्वालकम स्न्यापड्रागन ८८८ प्रोसेसर भएको ‘जेड फोल्ड–३’ १२ जिबी र्याम र २५६ वा ५१६ आन्तरिक स्टोरेजको विकल्पका साथ आएको छ। कम्पनीका अनुसार यो पहिलो वाटरप्रुफ फोल्डएबल फोन हो। ‘आइपी एक्स ८’ रेटिङ पाएको स्मार्टफोन पानीमा ३० मिनेटसम्म डुब्दापनि केही हुुँदैन।
चार हजार चार सय एमएएच ब्याट्री पावर भएको यो स्मार्टफोन दुई तरिकाले चार्ज गर्न मिल्छ। यो फोन वायेरबाट २५ वाटसम्म र वायेरलेसमा १० वाटसम्ममा चार्ज गर्न मिल्छ। यसले रिभर्स वायरलेस चार्जिङपनि समर्थन गर्छ।
फ्यान्टम ग्रीन, फ्यान्टम ब्ल्याक र फ्यान्टम सिल्भर रङमा उपलब्ध रहेको ‘जेड फोल्ड–३’ अगस्ट २३ देखि बिक्री सुरु हुनेछ। यसको मूल्य एक हजार सात सय ९९ अमेरिकी डलर तोकिएको छ।