एप्पलले आफ्नो नयाँ ‘आइफोन–१३’ आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ।
एप्पल इन्साइडरका अनुसार कम्पनीले यही सेप्टेम्बरमा ‘आइफोन–१३’का चारवटा मोडल ल्याउने अनुमान छ। यी मोडलमा ठूला ब्याट्री, अपडेटेट चिपसेट, ५–जी समर्थन हुने अनुसन्धान कम्पनी टे«न्डफोर्सले जनाएको छ।
बिहिबार ट्रेन्डफोर्सले नयाँ आइफोनबारे केही अनुमानहरु गरेको थियो, जसमा एप्पलले पहिलेजस्तै सेप्टेम्बर महिनामा ‘आइफोन–१३’ सार्वजनिक गर्ने भनिएको हो। यदी ‘आइफोन–१३’ अनुमानअनुसार अबको एक महिनापछि बजारमा आयो भने यस वर्षको तेस्रो त्रैमासिकमा आइफोनको बिक्री ३० प्रतिशतले बढ्ने छ।
योसँगै केही रिर्पोटले ‘आइफोन–१३’ नयाँ परिवर्तनका साथ आउने बताएको छ।
अनुसन्धान कम्पनी ट्रेन्डफोर्सले नयाँ आइफोनमा ठूलो ब्याट्री र ५ एनएमको ए–१५ चिपसेट हुने अपेक्षा गरेको छ। साथै एप्पलले संसारभरका थुप्रै देशमा यसको बिक्री गर्न ‘आइफोन–१३’मा ठूलो एमएमवेबको ५–जी समर्थन राख्ने एप्पल इन्साइडरले लेखेको छ।
यसैगरी ‘आइफोन–१३’मा १२० हर्जको प्रोमोसन डिस्प्ले र प्रोरेस भिडियो रेकर्डिङ क्यामरा फिचर हुने बताइएको छ। यो आइफोन सनसेट गोल्ड रङमा उपलब्ध हुने रिर्पोटले जनाएको छ।
एप्पलले प्रायजसो आफ्नो नयाँ आइफोन हरेक सप्टेम्बर महिनामा सार्वजनिक गर्छ। गत वर्ष भने कोरोना महामारीका कारण कम्पनीले ‘आइफोन–१२’को लाइनअप अक्टोबर महिनामा सार्वजनिक गरेको थियो।