चिनियाँ स्मार्टफोन कम्पनी साओमीले हालै नयाँ स्मार्टफोन ‘मिक्स–४’ सार्वजनिक गरेको छ।
जीएसएम एरेनाका अनुसार ‘एमआई मिक्स–३’ सार्वजनिक भएको तीन वर्षपछि साओमीले बल्ल ‘मिक्स–४’ सार्वजनिक गरेको हो।
‘साओमी मिक्स–४’ अन्डर डिस्प्ले क्यामरा भएको कम्पनीको पहिलो स्मार्टफोन हो। यसमा भएको २० मेगापिक्सलको सेल्फी क्यामरा डिस्प्ले भित्र हुनेछ।
यो स्मार्टफोनमा ६.६७ मेगापिक्सलको एमोलेड डिस्प्ले छ। १२० हर्ज रिफ्रेस रेट भएको यो फोन गोरिला ग्लास भिक्टसबाट बनेको छ, जसले फोनलाई बलियो र भरपर्दो पार्छ।
यसको पछाडिपट्टि तीनवटा क्यामरा छ, जसमा १०८ मेगापिक्सलको मूख्य क्यामरा, ८ मेगापिक्सलको पेरिस्कोप क्यामरा र १३ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा छ।
स्न्यापड्रैगन ८८८ प्लस चिपसेट भएको ‘साओमी मिक्स–४’ ८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज र १२ जिबी र्याममा ५१२ आन्तरिक स्टोरेजमा उपलब्ध छ।
चार हजार ५०० एमएएच ब्याट्री पावर भएको यो फोनमा १२० वाटको वायर चार्जिङ छ, जसबाट १५ मिनेटमा नै पूरा चार्ज गर्न मिल्छ। साथै ५० वाटको वायरलेस चार्जिङबाट भने फोनलाई पुरा चार्ज हुन २८ मिनेट लाग्ने जीएसएम एरेनाले बताएको छ।
‘साओमी मिक्स–४’ सेरामिक ब्ल्याक, सेतो र खैरो रङमा उपलब्ध हुनेछ। यसको मूल्य सात सय ७० अमेरिकी डलरदेखि नौ सय ७० अमेरिकी डलरसम्म तोकिएको छ।
यो फोनको बिक्री अगस्ट १६ देखि चिनियाँ बजारमा सुरु हुनेछ। विश्वबजारमा भने यसको बिक्री कहिले हुने केही जानकारी आएको छैन।