यो वर्ष नेपाल टेलिकमको नाफा दुई अर्ब रूपैयाँ घटेको छ। आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आव २०७७/०७८ मा खुद मुनाफा दुई अर्ब २९ करोड ४८ लाख ७१ हजार रूपैयाँ कम भएको टलिकमले जनाएको छ।
टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुुसार आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासिक अवधिमा खुद मुनाफा नौ अर्ब ७४ करोड ८९ लाख ५६ हजार थियो। २०७७/०७८ मा खुद मुनाफा सात अर्ब ४५ करोड ४० लाख ८५ हजारमा झरेको हो।
मुनाफामा कमी आउनुको प्रमुख कारण कोरोना महामारी रहेको टेलिकमले जनाएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा घटेकाले ब्याज आम्दानीमा कमी आएको टेलिकमको भनाइ छ।
कम्पनीले कोभिड महामारीलाई लक्षित गरी निकै कम मूल्यमा डेटा प्याकेज उपलब्ध गराएको थियो। यस कारण अघिल्लो वर्षको तुलनामा डेटा उपभोग बढे पनि राजश्व सोचेजस्तो बढ्न नसकेको र नाफा टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारण रोमिङ सेवामा आएको गिरावटले पनि असर पारेको टेलिकमले उल्लेख गरेको छ।
समीक्षा अवधिमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मतसम्भार खर्चमा वृद्धि, विदेशी मुद्रा सटही दरमा परिवर्तन तथा फोरजी प्रविधि जडान गरिएको ह्रासकट्टीमा भएको वृद्धिका कारण व्ययभार बढ्न गई मुनाफामा असर गरेको टेलिकमले प्रस्ट्याएको छ।
आव २०७६/०७७ को असार मसान्तको अन्तिम लेखा परीक्षणपछिको कुल आम्दानी ३४ अर्ब ६१ करोड ९९ लाख ६४ हजार रहेको टेलिकमले जनाएको छ।
०७६/०७७ को तुलनामा कम्पनीको आम्दानी भने ३.७० प्रतिशत बढेको छ। आव २०७७/०७८ मा आम्दानी ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार पुगेको कम्पनीले जनाएको छ।